जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघका नेताहरुले तालाबन्दी गरेका छन् । लोकतान्त्रिक विद्यार्थी संघका नेता त्रिदेव मिश्रको नेतृत्वमा जनकपुरधामस्थित लोसपा मधेश प्रदेश कार्यालयमा तालाबन्दी गरेका हुन् ।
लोसपा धनुषाका जिल्ला अध्यक्ष परमेश्वर साहले आफूखुशी विद्यार्थी संघको जिल्ला अध्यक्षमा मनोनीत गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
अध्यक्ष साहले विद्यार्थी संगठनका नेताहरुसँग विचार विमर्श नै नगरी पकेटबाट मान्छे निकालेर अध्यक्ष पदमा मनोनीत गरेकाले सोको विरोधस्वरुप आफूहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी संघका नेता त्रिदेव मिश्रले जानकारी दिए ।
उनले भने, ‘हामी विद्यार्थी संगठनका नेता कार्यकर्तालाई बेवास्ता गर्दै विद्यार्थी संघ धनुषाको जिल्ला अध्यक्ष पदमा नियुक्त गरेकाले विरोध गर्दै तालाबन्दी गरेका हाैँ ।’
उनले थप्दै भने, ‘पार्टीले सो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा तालाबन्दीको आन्दोलन जारी रहनेछ, राज्यले हामी मधेशी समुदायसँग सौताको व्यवहार गरेझैँ आफ्नै पार्टीका शीर्ष नेताहरुले पनि विद्यार्थी संगठनका नेता–कार्यकर्तासँग त्यही व्यवहार गर्दा हामी विद्यार्थी निरुत्साहित भएका छौँ ।’
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल गठन प्रक्रियापश्चात् पार्टीका शीर्ष नेताको आपसी मतभेद र रस्साकसीले हामी विद्यार्थीहरुको भविष्य नै अन्धकारमा पार्न खोजेको बताए । पार्टी अध्यक्ष परमेश्वर साहले बिहीबार मात्रै विद्यार्थी संघ धनुषाको जिल्लाको अध्यक्षमा मो. इजाज अन्सारीलाई मनोनीत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया