काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. केशव पौडेलले संघमा राजनीतिक चलखेल नभएको दाबी गरेका छन् । महासचिव पौडेलले राजनीतिक दल वा संघसंस्थासँग छलफल गर्दैमा संघमा राजनीति छिरेको भन्न नमिल्ने बताएका हुन् ।
उनले संघले अबका दिनमा नेपालको समृद्धिमा सहयोग गर्ने, विदेशमा बस्ने नेपालीहरुलाई नेपालसँग जोडिराख्ने, विदेशमा बसेका नेपालीलाई निरन्तर नेपाली नागरिकता लिइराख्न सक्ने व्यवस्था बनाउने लगायतका कामलाई सहजीकरण गर्नेतर्फ केन्द्रित रहने पनि बताए ।
महासचिव पौडेलले सबै राजनीतिक दल, सरकार र संघसंस्थाहरुसँग छलफल गरेर आगामी दिनमा गैर आवासीय नेपाली संघलाई अघि बढाउने पनि बताए । एनआरएनएको सामूहिक नेतृत्वले गैर आवासीय नेपालीका समस्या समाधान गर्ने दाबी गरे । महासचिव पौडेलले संघमा केही समस्या समाधान भइसके पनि अहिले धेरै समस्या रहेको भन्दै त्यसलाई छलफलबाट टुंग्याएर अघि बढ्नुपर्ने बताए ।
महासचिव पौडेलले एनआरएनएमा तीन जना अध्यक्षको सहकार्यमा नेतृत्व सुचारु हुन लागेकोप्रति कतिपयले पदको लागि सहकार्य गरेको भन्ने आरोप लगाएको भनेपनि त्यो सत्य नभएको बताए । संस्थाले गैरआवासीय नेपालीहरुका समस्या समाधानका लागि सामुहिक सहमतिको नेतृत्व चयन गरेको बताउँदै महासचिव पौडेलले सामुहिक नेतृत्वले संस्थालाई संस्थावत बनाउने र पारदर्शी बनाउने कुरामा जोड दिने बताए ।
मंगलबार कुरा गर्दै उनले सामुहिक नेतृत्व बन्नु सबै गैरआवासीय नेपालीहरु एकजुट हुनुको संकेत भएको बताए । उनले अहिले भएको सामुहिक समझदारीले आउने दिनमा संस्थाको भविष्य उज्जल बनाउनेमा द्वीमत नरहेको पनि बताए ।
महासचिव पौडेलले गैर आवासीय नेपालीहरुले नेपालमा धेरै क्षेत्रमा लगानी गरिरहे पनि त्यसको आवश्यक प्रचारप्रसार हुन नसकेको बताए । उनले आवश्यक क्षेत्रमा अझै पनि गर्नुपर्ने जति लगानी गर्न नसकेको पनि स्पष्ट पारे । महासचिव पौडेलले गैरआवासीय नेपाली नागरिकहरु नेपालमा लगानी गर्न सहज वातावरण बन्न नसकेको पनि बताए । उनले आगामी दिनमा संघले सरकारसँग छलफल गरेर गैर आवासीय नेपालीहरुले नेपालका विभिन्न क्षेत्रमा गर्नसक्ने लगानीको झन्झटलाई सरलीकृत गर्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
महासचिव पौडेलले आगामी कार्ययोजना र उद्देश्य प्राप्तिका लागि संघले पदाधिकारीसँग छलफल गरेर असामान्य देखिएको विगतको स्थितिलाई सामान्य बनाउने र छवि सुधार गर्नेप्रति ध्यान दिने बताए ।
उनले गैरआवासीय नेपालीहरुलाई नेपालमा लागनी गर्ने वातावरण बनाउने र विदेशमा सिकेको सीप, ज्ञानलाई प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्ने, लगानीका प्रोसेसहरुलाई सरलीकरण गर्ने, गैर आवासीय नेपालीको नागरिकता भइरहने स्थिति सिर्जना गर्ने, नागरिकताको विधेयक जाँदा गैर आवासीय नेपालीको नागरिकताको कुरा छुट्टै ल्याउन पहल गर्ने र त्यसलाई सजिलोसँग पास गर्ने काममा संस्था जुट्ने अबको उद्देश्य भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया