आईजीपीको दौडधुप : को बन्ला नयाँ प्रहरीप्रमुख ?

लोकपथ
2.6k
Shares

काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् । डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् ।

यीसँगै नेपाल प्रहरीमा ९ जना एआईजी भएका छन् । तीमध्ये आठ जना जनपदतर्फका छन् भने एक जना प्राविधिकतर्फका छन् । तिनै ८ जनामध्येबाट भावी प्रहरीप्रमुख नियुक्त गरिनेछ । ८ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ ।

अब एआईजीपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै आजबाट थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ । चारै जना एआईजीहरू एउटै ब्याजी हुन् । चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

पन्त भने वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदै छन् । जसले गर्दा उनी आईजीपीको दौडबाट बाहिरिनेछन् । आईजी क्षेत्रीका ब्याजी एआईजीहरू हरि बहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाही पनि १९ वैशाखदेखि अवकाश पाउँदै छन् ।

सरकारले गत ५ फागुनमा नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गरेको थियो ।
अब नयाँ प्रहरीप्रमुख को बन्ने भन्ने सरकारको हातमा छ । प्रहरी फ्रमुख नियुक्त गर्दा वरीयताक्रम तथा कार्य

 

 

 

सम्पादन मूल्यांकन हेरेर गर्नुपर्ने हुन्छ । तर, सरकारले आफूअनुकूलका प्रहरी अधिकृतलाई नियुक्त गर्दै आएको छ ।

अब चार जनामध्ये कसले नेपाल प्रहरीको २९औँ प्रहरीप्रमुखको जिम्मेवारी पाउनेछन् भन्ने आम चासोको विषय छ । वरीयताको आधारमा पहिलो नम्बरमा विश्वराज पोखरेल छन् भने दोस्रोमा सहकुल थापा रहेका छन् ।

थपिएका सिंह र धानुक क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । प्रहरी चेन आफ कमान्डमा चल्ने संगठन भएकोले प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्दा एक नम्बरमा रहेको नै भावी आईजीपी हो भन्न सकिँदैन । जसको कार्यक्षमता उत्कृष्ट छ ऊ नै व्यवहारतः हरेक बढुवामा अग्रस्थानमा रहँदै जान्छ ।

हुन त प्रहरी संगठनमा राजनीतिक दाउपेच पनि नहुने होइन । तर चेनअफ कमान्डमा चल्ने संस्थामा आईजी प्रतिस्पर्धामा रहेको समयमा वरीयता जुन छ त्यही आधारमा आईजीपी छनोट हुने गर्छ ।

हालका आईजी क्षेत्रीको ब्याजसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याजकालाई पछि पारे । सडक दुर्घटनामा डीआईजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डीआईजीमा बढुवा भए ।

त्यसपछि उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्न एआईजीको दरबन्दी सिर्जना गरेको थियो ।

सरकार र संगठनले विश्वास गरेका पोखरेल आईजीपीको प्रबल दाबेदार हुन् । आईजीपी बन्न उनको नाम अग्रस्थानमै रहेको छ भने प्रधानमन्त्री देउवासँग पनि पोखरेलको राम्रो सम्बन्ध रहेको देखिन्छ । ०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा पोखरेललाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बनाएका थिए ।

आईजीपी बन्न चर्को लबिङ गर्ने अर्का एआईजी हुन् सहकुल थापा । डीआईजीमा सिंह र धानुकसँगै बढुवा भएका थिए । थपिएको दरबन्दीबाट उनी एआईजीमा बढुवा भएका थिए । उनलाई पनि देउवाले पत्याइहाल्ने अवस्था छैन । आज बढुवा भएका सिंह र धानुक पनि पोखरेलकै ब्याजी हुन् ।

सिंहलाई देउवाले आईजीपी बनाउन चाहेको भनेर पनि सामान्य चर्चा परिचर्चा छ तर वरीयताक्रम तथा कार्यसम्पादन मूल्याङ्कनमा समेत पोखरेल अगाडि रहेको अवस्थामा सिंहलाई सरकारले अघि सार्ने अवस्था देखिँदैन । हुन त सिंह डीआईजीमा छैटौँ र धानुक आठौँ वरीयताक्रममा छन् ।

उनीहरूभन्दा वरीयताक्रममा अगाडि रहेका तीन जना डीआईजीहरू एआईजीमा बढुवा नभएपछि सर्वोच्च पुगेका छन् । डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् । उनीहरूले बढुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश मागदाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?