काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् ।
बिहीबार रिपोर्टस् क्लबको २४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताए । प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने बताए । उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकतावद्ध बनाएर अघि बढ्ने पनि बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा दुइमत छैन । हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन । वास्तवमा भन्ने हो भने सबै अरु पार्टीका नेताहरुले सहयोग गर्नुभएको छ । उहाँहरुले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकतावद्ध रुपमा अघि बढाउने छौँ । गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु । अफ्ठ्यारोलाई फुकाउने र मिलाउने काम राजनीतिक दलहरुको हो, भाग्ने काम होइन नि । हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौँ ।’
त्यसैगरी प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको बताए । उनले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताए । प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया