काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।
भ्रमणका बेला उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।
त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटनसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षरलगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमिटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो ।
यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत् प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।
‘डिजिटल भुक्तानी प्लेटफर्म’सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमाेर्टबाट उद्घाट गर्ने कार्यक्रम रहेको छ ।
ऊर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जीसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।
चैत २० गते भारतको उत्तर प्रदेशस्थित वारणासीहुँदै प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया