सातै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्छ : मन्त्री अथक

लोकपथ
63
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सातवटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बुधबारबाट काठमाडौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु-याउन खेल प्रशिक्षकको भुमिका महत्वपूर्ण रहने उल्लेख गर्दै मन्त्री अथकले देशभरका सबै खेल प्रशिक्षहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई निर्देशन समेत दिए ।

निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको तयारी भईहरहेको जानकारी दिँदै त्यसको तयारीमा लाग्न समेत मन्त्री अथकले प्रशिक्षकहरुलाई निर्देशन दिए ।

‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि तयारी अवस्थामा रहेको छ, आवश्यक अध्ययनपछि प्रतियोगिताको मिति तय हुन्छ’, मन्त्री अथकले भन्ने, ‘सातवटै प्रदेशबाट उत्कृष्ट खेलाडी सहभागी हुनेगरी तयारी सुरु गर्नुहोस् ।’

बागमती प्रदेशले पहिलो प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको तर्फ इंगित गर्दै मन्त्री अथकले अन्य प्रदेशहरुलाई समेत तत्काल प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टी डोपिङसम्बन्धी प्रशिक्षण समेत आवश्यक रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा ७ दिनसम्म सञ्चालित क्षमता अभिवृद्धि तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बहादुर विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?