मझगाउँ विमानस्थलको पुनर्निर्माण सुरु

लोकपथ
0
Shares

कञ्चनपुर । २०५६ सालमा असुरक्षाको कारण बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल झण्डै दुई दशकपछि निर्माणकार्य सुरु भएको छ ।

विमानस्थल निर्माणको लागि ठेक्का प्रक्रियामार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको हो । महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठका अनुसार विमानस्थल निर्माण कार्य सुरु भएको दुई हप्ता भएको छ ।

श्रेष्ठले विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार काम सुरु भएको जानकारी दिए । विमानस्थलको निर्माणको लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उनले उल्लेख गरे ।

उनले भने, ‘आयोजना २० दिन भयो काम सुरु भएको । यो विमानस्थलको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभीले पाएको छ । ४५ करोड ६६ लाख २४ हजार रहेको छ । ठेक्का भएको मितिले तीन वर्षभित्र निर्माणकार्य सक्नुपर्नेछ । विमानस्थलको लागि सरकारले जग्गा समयमा नै उपलब्ध गराएमा समयमा नै निर्माण सक्ने योजनामा छौँ ।’

त्यस्तै मझगाउँ विमानस्थल पुनर्सञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माणसम्पन्न भएर सुदूरपश्चिममा पर्ने कञ्चनपुर जिल्लाको पर्यटक विकासको ढोका खोल्ने बताए ।

उनले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी पर्यटकीय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको बताए ।

त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्र विष्टले विमानस्थल निर्माणको लागि यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिहरूले चनावी घोषणा पत्रमा नै राखेकाले सबैको सहमतिमा निर्माण कार्य सुरु भएको बताए ।

उनले विमानस्थल निर्माण भएर पर्यटकय विकास तथा यहाँका जनताले रोजगारी पाउने बताए । विष्टले विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनपछि काठमाडौंको पहिलो उडानमा ज्येष्ठ नागरिकलाई निःशुल्क पशुपति घुमाउन लाने योजना रहेको सुनाए ।

अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निमार्ण गरिने छ । विमानस्थल निर्माण कार्य सुरु भएसँगै स्थानियवासीहरू विमानस्थल सञ्चालन हुने आशाले हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?