लमजुङ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले लमजुङका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले लमजुङको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश शिवप्रसाद खनाललाई तोकेको हो । आयोगले लमजुङका आठवटै पालिकामा निर्वाचन अधिकृत पनि तोकेको छ ।
चारजना जिल्लामै कार्यरत र बाँकी चारजना बाहिरबाट निर्वाचन अधिकृत तोकिएको छ । सदरमुकाम बेँसीसहर नगरपालिकाको लागि मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनाललाई नै तोकिएको छ । सुन्दरबजार नगरपालिकाको निर्वाचन अधिकृतमा जिल्ला न्यायाधिवक्ता जीवनिधि पौडेल, मध्यनेपाल नगरपालिकाको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेल र राइनास नगरपालिकाको लागि उद्योग विभाग काठमाडौंका उपसचिव घनश्याम न्यौपानेलाई तोकिएको छ ।
त्यसैगरी गाउँपालिकातर्फ क्व्होलासोंथरका लागि जिल्ला समन्वय अधिकारी तुलसीप्रसाद घिमिरे, दुधपोखरीकाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पोखराका अधिकृत (दशौँ तह) रामप्रसाद आचार्य, दोर्दीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली र मर्स्याङ्दी गाउँपालिकाको लागि लमजुङ जिल्ला अदालतका श्रेस्तेदार उदयराज काफ्लेलाई निर्वाचन अधिकृत तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया