अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

लोकपथ
7
Shares

स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।

महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाको भनाइ छ ।

आदर्श र पोखरिया माविले अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन् । दुवैमा बर्सेनि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक छ । “महानगरले संरचना निर्माणका साथै गुरुकुल र मदरसामार्फत हुने पठनपाठनमा सुधार गरेको छ”, उनको भनाइ छ । शैक्षिक लक्ष्य हासिल गर्न अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बीचैमा सामुुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ ।

विराटनगरको आदर्श विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको पूर्वप्राचार्य विष्णुप्रसाद लामिछानेले बताए । आदर्शमा तल्लो कक्षामा मन्टेश्वरी तथा माथिल्लोमा कम्प्युटर प्राविधिकतर्फको अध्यापनमा जोड दिइएको छ । आदर्शमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत् छन् । पोखरियामा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।

विराटनगरको महेन्द्र माविले कम्प्युटर शिक्षामा जोड दिएको छ । अडियो भिजुअल कक्षामा जोड दिएपछि निजी विद्यालयकै हाराहारीमा गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधारको उपभोग गरी पठनपाठन गरिँदै आएको प्राचार्य चन्द्रप्रसाद साहले बताए ।

दिनेश मण्डल सरकारी विद्यालयमा कम्युटरसम्बन्धी शिक्षा लिन पाएकामा खुसी छन् ।

जनता मावि परिसरमा बहुप्राविधिक शिक्षालय सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउए। प्राविधिक शिक्षामा विपन्नको पहुँच पुगेको उनले बताए ।

महानगर प्रमुख पराजुलीले आफ्नो पारिश्रमिक हस्तान्तरण गरी दुई आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेका छन् । नगरका अन्य आधारभूत विद्यालयको उनले नियमित अनुगमन गर्दै आएका छन् । पोखरीया माविमा नयाँ भवन निर्माण हुँदैछ । अन्य विद्यालयमा महानगरले यातायातको साधन व्यवस्थापनमा सहयोग गर्दैआएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?