१. प्रधानमन्त्री देउवा सुकुम्बासीको फाइल खोज्न दिल्ली जान लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न लागेको बेला सरकार नै परिवर्तन भएको दाबी ।
२. सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन, गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया बेठीक रहेको श्रेष्ठको भनाइ ।
३. जनकपुर–जयनगर रेल्वेको उद्घाटन शनिबार हुने, नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा सीमापार रेल सेवा सुरुवात गरेर रेलको उद्घाटन गर्ने कार्यक्रम तय ।
४. बिमस्टेकलाई जीवन्त राख्न नयाँ सङ्कल्प र सामूहिक प्रतिबद्धता आवश्यक रहेको परराष्ट्रमन्त्री नारायण खड्काको भनाइ, वर्तमान चुनौतीहरूअनुरुप नवीन मार्गहरू निर्माण गर्दै अघि बढ्नुपर्नेमा जोड ।
५. आइतबार सार्वजनिक बिदा गर्न र जोर बिजोर प्रणाली सञ्चालन गर्न नेपाल आयल निगमको प्रस्ताव, इन्धनको मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार ।
६. स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै र कुनै स्थानमा तालमेल गर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाइ, ‘भरतपुरको भावना’ आत्मसात् गरेर समाधान पहिल्याउन कांग्रेस प्रस्ट रहेको उल्लेख ।
७. बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिने खानेपानी मन्त्री उमाकान्त चौधरीको भनाइ, आगामी वर्षदेखि ढलको समस्या हटेर जाने दाबी ।
८. आउँदो स्थानीय निर्वाचनमा एमालेसँग गठबन्धनको प्रयास भइरहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ, यस पटकको निर्वाचनबाट धेरै अपेक्षा नरहेको भन्दै पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको प्रतिक्रिया ।
९. स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु, १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्ति हुने ।
१०. बन्चरेडाँडामा फोहोर फाल्दा स्थानीयको सरोकारलाई ध्यान दिन सरकारसँग स्थानीयहरूको आग्रह, फोहररहित मानव बस्तीको अवधारणाअनुरूप फोहोर मैला व्यवस्थापन गर्न माग ।
११. अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप ।
१२. युक्रेनमा १७ हजार रुसी सैनिक मारिए, १ सय २७ लडाकु विमान, १ सय २९ सैनिक हेलिकोप्टर र सातवटा पानीजहाज ध्वस्त पारेको युक्रेनी सेनाको दाबी ।
१३ एकै ठाउँमा ६० वटा गाडी ठोक्किँदा अमेरिकामा तीनको मृत्यु, दुर्घटनामा परी अरु २० जना घाइते, ५ जनाको अवस्था गम्भीर ।
१४. राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्च अदालतको आदेश, थप बहसका लागि चैत २२ गते बोलाइयो ।
१५. र, सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लब विजयी, एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वती युथ क्लब ३–२ गोल अन्तरले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया