काठमाडौं । नेविसंघ अध्यक्ष नैनसिंह महरले अवैधानिक काम गरेर संगठनलाई कमजोर बनाएको संघकै नेताहरुले बताएका छन् । उनीहरुले महरले गरेका मनोनयन खारेज गर्न र बाह्रौं महाधिवेशनको सुनिश्चित हुने वातावरण बनाउन मागसमेत गरेका छन् ।
नेविसंघ नेताहरु मनोजमणि आचार्य, दीपक भट्टराई र हिमालदत्त श्रेष्ठले सोमबार संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘दुई तिहाईको बाम सरकारले जनताको ढाड सेक्ने गरी गरिएको चरम महंगी, र कुण्ठित हुँदै गइरहेको प्रजातान्त्रिक हक अधिकार रक्षाका लागि हामी मिली संघर्ष गरेर अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा नेतृत्वको अवैधानिक क्रियाकलापले संघलाई विभाजित र कमजोर बनाउने कार्य भइरहेको हाम्रो बुझाई छ ।’
‘यस किसिमको कार्यशैलीले संगठनको साखलाई जीवन्तता दिन नसक्ने ठहर गर्दै तत्काल बिभिन्न मितिमा चिठ्ठी दिने र विभिन्न समयमा सार्वजनिक हुने हास्यास्पद मनोनयनहरु खारेज गरी बाह्रौं महाधिवेशनको सुनिश्चितताको लागि हामी जोरदार माग गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले संगठन व्यक्तिले नभई विधिले सन्चालन गर्न र विना सहमति हालसम्म गरिएका सम्पूर्ण मनोयन फिर्ता गरी सहमतिको वातावरण बनाउन माग गरेका छन् ।
आचार्य, भट्टराई र श्रेष्ठले महरको कार्यशैलीबाट बिचलित नभई कम्युनिस्ट अधिनायकवाद, विद्यार्थी वर्गीय हक र जनसरोकारका मुद्दाहरुमा आवाज बुलुन्द पार्न सबै विद्यार्थीहरुलाई अपीलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया