बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छ : मन्त्री चौधरी

लोकपथ
105
Shares

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताएका छन् ।

प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक वर्ष आउने वर्षातको फोहोर पानी र ढललाई व्यवस्थापन गर्न सुरु भएको निर्माण कार्यको मंगलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समास्या समाधान हुने बताएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्ने उद्देश्यले निर्माण हुन लागेको ढल व्यवस्थापन कार्यको शिलान्यास गर्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र र बाहिर पनि ढलको व्यवस्थापनको कार्य अघि बढाइने बताए ।

‘आगामी आर्थिक वर्षमा सिंहदरबारभित्र र वरिपरीको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुननिर्माण गुरुयोजनालाई असर नपर्ने गरी काम अघि बढाउँछौं’, मन्त्री चौधरीले भने, ‘महत्वपूर्ण स्थानहरुमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको कार्य सरकारले अगाडि बढाउनेछ ।’

निर्धारित समयअगाडि नै ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’ पाउने र स्थानीय बासिन्दा तथा बालुवाटार क्षेत्रको सडक प्रयोगकर्ताले सुविधा पाउने मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले निर्धारिक समयभन्दा अगाबै र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै स्थानीय वडाका जनप्रतिनिधिको साथ र सहयोगबाटआयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

खानेपानी सचिव सुरेश आचार्यले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौं महानगर पालिकाका तीनवटा वडाका बासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्ति पाउने भन्दै सडक प्रयोगकर्ताले पनि सुविधा पाउने बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले प्रधानमन्त्री निवाससहित भिभिआईपीको सरकारी निवास क्षेत्र र महानगरको २,३ र ४ का नौं हजार दुई सय ४६ घर परिवारले आयोजनाबाट लाभान्वित हुने बताए ।

निर्देशक सापकोटाले सो आयोजनालाई १५ महिना भित्र सम्पन्न गर्ने गरी समानान्तर निर्माण कम्पनीलाई १० करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको बताए ।

काठमाडौं महानगरपालिका वडा नं ४ स्थित ललितानिवास छेउमा बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापन कार्यको शिलान्यासपछि महानगरका २ नं वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ढल आयोजनालाई निधारित समयमा सम्पनन गर्न वडाबासीको तर्फबाट आफूले सहयोग, साथ र समर्थन गर्ने बताए ।

समानान्तर निर्माण कम्पनीका अध्यक्ष अच्युत प्रसाद खरेलले आयोजना कर्यान्वयन निर्देशनालयले तोकेको अधिकतम लागत १९ करोड २९ लाखभन्दा कममा आफूहरुले घाटा खाएर ठेक्का लिए पनि आगामी वर्षाको समयअघि नै गुणस्तरमा सम्झौता नगरी काम गर्ने बताए ।

उनले यसै क्षेत्रको नेपाल राष्ट्र बैंकको संरचना पनि आफ्नै कम्पनीलाई पाएर काम गरिरहेको हुनाले सुरक्षा संवेदनशिलतालाई समेत हेरेर घाटा भए पनि ठेक्का सम्झौता कर्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?