खोटाङ । खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको पाइप जोखिम आँकलन नगरी खोलामा बिछ्याइएको पाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको पम्पिङ खानेपानी आयोजनाको पाइपलाई निर्माण कम्पनीले भलबाढीबाट क्षति पुग्नसक्ने खतरालाई आँकलन नगरी खोलामा राखेको पाइएको हो ।
निर्माण कम्पनी दिवा–महादेव खिम्तीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित महादेवबेँसीबाट दुधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको पाइप महादेव खोलैखोला असुरक्षित तरिकाले राखेको स्थानीय बताउँछन् ।
खोलामा लडाएर राखिएको पाइप वर्षामा आउने भलबाढीले क्षति पुग्ने खतरा देखिएको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । निर्माण कम्पनीले खानेपानीको पाइपलाई जमिनमाथि उठाउने पिलर पनि राखेका छैनन् । खोलामा लडाएर राखिएका कारण सामान्य भलबाढीले पाइपमा खिया लाग्न सुरु भइसकेको छ ।
स्थानीय महादेव खोला र ढुँडी खोलामा भलबाढीले भेट्नेगरी करिब साँढे ३ किलोमिटर पाइप जमिनमा लडाएर राखिएको छ । खोलाभन्दा २० मिटरमाथिबाट पाइप राख्न आवाज उठाउँदै आएको भए पनि सुनुवाइ नभएको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा निकाल्नका लागि सान्ने खोलामा विछ्याइएको अर्को मेनलाइनको पाइप समेत भलबाढीको जोखिममा छ । पम्पिङ अयोजनाको काम पाइप बिछ्याउने क्रममा भएको त्रुटि सच्याउनका लागि निर्माण व्यवसायीलाई १६ फागुनमा पत्राचार गरिएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए ।
दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्का दिवा–महादेव खिम्तीले लिएको हो ।
दुधकोसीबाट काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्नेगरी रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी र भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले गरिरहेको छ । तर, आयोजनाको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया