छोरीलाई जिउँदै आगो लगाएको आशंकामा बुबा समातिए, बाबु समात्न आमा इराकबाट फर्कनुपर्यो

बुटवल –आफ्नै छोरीलाई मट्टीतेल छर्केर आगो लगाएको अभियोगमा बाबुसहित चार जना पक्राउ परेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई आगो लगाएको आंशकामा उनका बुबा तेजबहादुर, हजुरआमा हरिकला, फुपूहरू मधु र अमृतालाई इलाका प्रहरी कार्यालय सालझन्डी रूपन्देहीले सोमबार पक्राउ गरेको हो ।

समीक्षा आफ्नै घरमा सुतेको अवस्थामा मट्टीतेल छर्केर जलेको अवस्थामा ९ असारमा भेटिएकी थिइन् । गम्भीर घाइते समीक्षाको उपचारका क्रममा २० असारमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले हरिकला र तेजबहादुरलाई रुद्रपुरबाट र अमृता र मधुलाई बुटवलबाट नियन्त्रणमा लिएको थियो । इराकमा कार्यरत मृतक समीक्षाकी आमा माया थापाले नेपाल फर्केर प्रहरीमा उजुरी गरेपछि परिवारका सदस्य पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय, बुटवलबा प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले  घटना शंकास्पद भएको बताए । मावली घरमा बस्दै आएकी समीक्षा विगत ६ महिनायता मात्रै बुबाको घरमा बस्न थालेकी थिइन् । उनी गाउँकै पिसल्यान्ड भूपू सैनिक पब्लिक बोर्डिङ स्कुलमा १० कक्षा पढ्दै आएकी थिइन् । उनका बुबा गाडी चालक रहेको बताइएको छ ।

समीक्षा जन्मेको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि त्यतिबेलादेखि नै उनी आमासँगै मावलमा बस्दै आएको स्थानीयहरू बताउँछन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?