ओली राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउँछन् : माधव नेपाल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरुसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको आरोप लगाएका हुन् । उनले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताए ।

उनले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको बताए। अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताए ।

अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गरे । उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उनले आफुहरु त्यसैगरी बेइजत नहुनका लागि एमाले छाडेको बताए । एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने उनले बताए।

अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमपनि समाजवादीमा आउन चाहेको बताए ।

तर केपी ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर पाँच वर्ष चलाउन पाए आफूहरुको हड्डी जाँतोमा पिसेर सिध्याइदिने भन्दै त्यसो गर्न नसकिने जवाफ दिएको उनले बताए । उनले पार्टीका युवाहरुलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?