काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकहरुको दबाबका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दाबी गरेका छन् ।
सोमबार वीरगंजका स्थानीय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै थापाले सो कुरा बताएका हुन् ।
आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन् । चौरानब्बे प्रतिशतभन्दा बढी नागरिकहरु हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थागित हुने उनको तर्क छ ।
स्थानीय तह निर्वाचनको तयारी भईरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अव एउटा बलियो शक्ति बनेर उदाउने बताए ।
सोमबार वीरगंजका स्थानीय सञ्चारकर्मीहरुमाझ उनले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पारे । राजसंस्थाको एजेण्डालाई छाडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवी र आमसञ्चार माध्यामहरुले पनि सकारात्मक रुपमा लिने उनको विश्वास थियो । अध्यक्ष थापाले आफू लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा लिएर जनतामा जाने पनि दोहोर्याए ।
उनले भने, ‘आगामी दिनमा राप्रपा नेपाल लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोकेर जनताको माझमा जाँदै छ । र, मलाई पूरा विश्वास छ कि ९४ प्रतिशत सनातन हिन्दु राष्ट्रप्रति आस्था राख्ने ओमकार परिवारप्रति प्रतिबद्ध भएको कारणले गर्दाखेरी अब आगामी दिनमा राप्रपा नेपाल एउटा बलियो शक्तिको रुपमा स्थापित हुन सक्दछ । विगतमा हामीले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा सँगसँगै लिएर जाँदा बहुसंख्यक जनताले हिन्दु राष्ट्रको पक्षमा ऐक्यवद्धता जनाएपनि सँगसँगै राजसंस्थाको एजेण्डापनि गाँसिएर आएको हुँदा तपाईहरुलाई सहयोग गर्न हामी सक्दैनौं भनेर भन्नु हुन्थ्यो । र, अहिले अब त्यो अवस्थाको अन्त्य भएको छ । र, नयाँ परिवर्तित सन्दर्भमा राप्रपा नेपालको नयाँ सोच र मार्गचित्रलाई नागरिक समाज, बुद्धिजीवी वर्ग र आमसञ्चार माध्यामबाट पनि सकारात्मक रुपमा ग्रहण गर्नु हुनेछ भन्ने हामीले आशा र विश्वास लिएका छौँ । हामी कहिल्यै पनि हिन्दु राष्ट्रको एजेण्डालाई छाडेका छैनौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया