देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १० जना पक्राउ

लोकपथ
14
Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट करिब ४३ ग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ र २ थान डिजिटल तराजु सहित कलंकी बस्ने भारत लखनउ घर भएका १८ वर्षीय किशोरसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ, नगद २ लाख ४५ हजार रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लास्टिकहरु र बा. ७६ प ६४९२ नम्बरको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी चितवन, राप्ती नगरपालिका-११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम अवैध लागुऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । उनको घरमा लागुऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

उनकै घरमा रहेका १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्नुका साथै हाल फरार चेपाङको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-६ लोथर खोलाको बगरबाट करिब १ सय किलो अवैध लागुऔषध गाँजा सहित सोही गाउँपालिका सुगौरा बस्ने ५३ वर्षीय बुद्धि बहादुर थिङ समेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ४ वटा बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलबाट करिब १ सय ६५ किलो ८ सय ग्राम अवैध लागुऔषध गाँजा सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

भैसेबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३-०१-०२३ च ५६४० नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी गाडी चालक अरबिन्दलाई पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर २३ नजिकबाट करिब १ ग्राम ६ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित भजनी नगरपालिका-७ बस्ने ३१ वर्षीय टंक शाहीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

से ४ प ७७११ नम्बरको मोटरसाइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?