राजपा संसदीय दलको विधान टुंग्याउँदै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई भोलि मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ । 

सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो । 

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैठकमा विधानको मस्यौदाबारे छलफल भएको र भोलि १२ बजेसम्म विधानबारे केही सुझाव भएमा पार्टीमा बुझाउन समय दिएको बताए । 

उनले भने– “समसामयिक राष्ट्रिय विषयमा पनि छलफल भयो । तर, औपचारिक निर्णय भने दलसम्बन्धी विधान, दलको नेता चयनलगायत सबै काम सात दिनभित्र सक्ने सहमति भएको छ ।” 

राजपाले संसदीय दलको विधानलाई मंगलबार टुंगो लगाएर दलको नेता चयन गर्न निर्वाचनको मिति घोषणा गर्नेछ । 

आजको बैठकमा संघीय संसद्का दुबै सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रारम्भिक छलफल भएको र पुनः बैठक बसेर सोबारे निर्णय लिने नेता यादवले बताए । 

राजपाका प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा दुई सांसद हुन । जम्मा १९ सांसदमध्ये एक रेशम चौधरीको मुद्दा नटुंगिएकाले चौधरी अहिले सांसदको हैसियतमा छैनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?