सुदूरपश्चिमको प्रदेशसभा हिउँदे अधिवेशन आजबाट

लोकपथ
91
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले नवौं (हिउँदे) अधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ ।

प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ महिना पुग्न दुई दिनअघि आज (आइतबार) देखि नवाैँ अधिवेशन सुरु हुन लागेको हो । प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन गत असोज १५ गते राति १२ बजेदेखि अन्त्य गरिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको एउटा अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ ।

प्रदेश मन्त्री परिषद्को गत ३ गते बसेको बैठकले चैत १३ गते साँझ ४ बजेदेखि हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले अधिवशेनको पहिलो बैठकमा सांसदहरूले शुभकामना दिने र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश दूग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, २०७८ सभामा टेवल गर्ने कार्यसूची रहेको बताए ।

हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्दै आएका थिए ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले छवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।

प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले विधेयक तयार पारेको जनाइएको छ ।

प्रदेशसभामा चारवटा विधेयक प्रक्रियामा रहेका छन् । प्रदेशसभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषयगत समितिमा छन् ।

यसैगरी, दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पनि विषयक समितिमा रहेको छ । सुदूरपश्चिम प्रदेश दूग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, २०७७ सचिवालयमा दर्ता भएको छ । सुदूरपश्चिम प्रदेशसभाले हालसम्म ५७ कानुन बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?