बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौँ। बहुप्रतिक्षित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले प्रस्ताव गरेको छ । चिनियाँ निर्माण कम्पनी साउथ चाइना ओभरसिज डेभलपमेन्ट कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्न प्रस्ताव गरेको उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
काठमाडौं उपत्यकाको शहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न बाहिरी चक्रपथको अवधारणा ल्याइएको हो । यसअघि नै चीन सरकारले बाहिरी चक्रपथको सडक निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।
चिनियाँ निर्माण कम्पनीको एक प्रतिनिधिमण्डलले शहरी विकासमन्त्री महम्मद इस्तियाक राइन र उपत्यका विकास प्राधिकरणका पदाधिकारीसँग भेट गरी बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव गरेको जानकारी प्रमुख तिवारीले दिए । मन्त्री राइनले अनुभवी र दक्ष निर्माण कम्पनी मार्फत बाहिरी चक्रपथ निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
प्राधिकरण प्रमुख तिवारीका अनुसार, प्रतिनिधिमण्डलसँगको भेटमा नेपालले चक्रपथ निर्माणका लागि स्पष्ट र विस्तृत् प्रस्ताव प्रस्तुत गर्न चिनियाँ निर्माण कम्पनीलाई आग्रह गरेको थियो । त्यस क्रममा मन्त्री राइनले प्रस्तावित बाहिरी चक्रपथको ‘पाइलट प्रोजेक्ट’ का रुपमा चोभार–सतुङ्गल खण्डको काम अगाडि बढाउन अन्तिम तयारी भइरहेको जानकारी दिएका थिए । चोभार–सतुङ्गल खण्डको लम्बाई ६.६ किलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?