४ करोडमा बार्गेनिङ गरिरहेको अवस्थामा रुबी र रातो पत्थरसहित ९ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले रुबी सञ्चय गरी  बिक्री वितरण एवम् ओसारपसार गरेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार जाजरकोट घर भई नारायणस्थान बस्ने पदमबहादुर थापा, मित्रनगर बस्दै आएका जाजरकोटकै अमृत बहादुर बुढा र प्रदीप कुमार बोहरा, कपन बस्ने हुम्लाका सरोज कार्की, नेपालगञ्ज घर भई पवित्रनगर बस्ने बेदराज शर्माका छोरा जीवन शर्मालाई थप अनुसन्धानका लागि पक्राउ गरेको हो ।

त्यस्तै सामाखुशी बस्ने गोरखाका सुमन तामाङ, रुकुम स्थायी घर भएका पवित्रनगर बस्ने वीरबहादु मनोज बोहरा, टोखाका राजाराम सिलवाल र पवित्रनगर बस्ने डोल्पाका भीम बोहरालाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रहरीले सुराकीका आधारमा ४ करोड रुपैयाँमा बार्गेनिङ गरिरहेको अवस्थामा रुबी र रातो पत्थरसहित पक्राउ गरेको हो । दरबारमार्ग प्रहरीले रातो पत्थर ४ वटा, अवैध रुबी १ सय १० क्यारेटसहित पक्राउ गरेको जनाएको छ ।

यसअघि मित्रनगरमा हतियार देखाएर अज्ञात समूहले अपहरण गरेको हल्ला फैलिएको थियो भने महानगरीय प्रहरी प्रभाग, बसपार्कका प्रमुख मोहन केसीले अपहरणमा परेको हल्ला चलेकोे लोकपथलाई बताएका थिए ।

तर, उक्त हल्ला अपहरण नभएर सादा पोशाकमा आएका प्रहरीले नै पक्राउ गरेको प्रहरी निरीक्षक केसीले पुष्टि गरे ।

पक्राउ परेका ९ जनामाथि नै थप अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?