काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली आयात गर्न थालेको छ । प्राधिकरणले बिडिङमार्फत भारतबाट बिजुली खरिद गरेको हो । नेपालमा विद्युत् संकट देखिन थालेपछि प्राधिकरणले महँगोमा भारतबाट बिजुली खपत गर्नुपरेको हो ।
प्राधिकरणले भारतबाट हालसम्मकै उच्च मूल्यमा बिजुली खरिद गरेको छ । नेपालका उद्योगलाई विद्युत् आपूर्ति अभाव भएका कारण प्राधिकरणले चर्को मूल्यमा बिजुली खरिद गर्न लागेको प्राधिकरणले जनाएको छ ।
यसअघि भारतबाट नेपालले प्रतियुनिट १२ रुपैयाँ ८० पैसामा बिजुली खरिद गर्दै आएको थियो । तर अहिले भने प्रतियुनिट ३८ रुपैयाँमा ल्याएको छ । अब भारतबाट ३८ रुपैयाँमा किनेको बिजुली नेपालमा भने १०÷१२ रुपैयाँमै दिनुपर्छ । यसरी हेर्ने हो भने प्राधिकरणलाई प्रतिदिन २२ करोड रुपैयाँ नोक्सान हुने देखिन्छ ।
हिउँदको समयमा आन्तरिक उत्पादनले विद्युतको माग थेग्न सक्ने अवस्था नरहेको र करिब ३० प्रतिशत बिजुलीको माग आयातबाटै धान्नुपर्ने बाध्यता प्राधिकरणलाई छ । भारतीय बजारमा बिजुलीको मूल्य महँगिएको कारण बोलकबोल गरेरै विद्युत् खरिद गर्नुपर्ने बाध्यतामा प्राधिकरण पुगेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिमा देखिएको समस्या अल्पकालीन समस्या नभएको बताए ।
भारतबाट महँगो मूल्यमा विद्युत् खरिद गर्दा प्राधिकरणलाई घाटा पर्न जान्छ नि ? यसको पूर्ति प्राधिकरणले कसरी गर्छ ? भन्ने लोकपथको प्रश्नमा उनले सधैँ महँगोमा विद्युत् खरिद गर्नु नपर्ने बताए ।
‘प्राधिकरण सधैँ घाटामा गएको छैन । पहिलेको नाफाबाट पूर्ति गर्छौँ । कहिलेकाहीँ महँगोमा पनि खरिद गर्नुपर्ने अवस्था आउँछ । सधैँ यस्तो समस्या आउँदैन । हामी घाटालाई म्यानेज गर्छौँ । प्राधिकरणलाई खासै घाटा हुँदैन’, उनले भने ।
भारतबाट आयात गरिने विद्युतको प्रतियुनिट मूल्य यथावत् रहेको अवस्थामा प्राधिकरणले धान्न गाह्रो पर्नसक्ने उनले बताए । अहिलेकै अवस्था रहे दुई महिना समस्या हुने र जेठदेखि भने स्वदेशी उत्पादनले नै माग धान्ने उनले बताए ।
अहिलेको मूल्य लामो समय रुपैयाँ रहिरहे असार–साउनमा नेपालले उच्च दरमा बिक्री गर्नसक्ने सम्भावना रहेको उनको भनाइ छ ।
नेपालको राष्ट्रिय प्रसारण लाइनमा २२ सय मेघावाट विद्युत् नेपालमा जोडिएको छ । ठूला औद्योगिक क्षेत्रबाहेक, साना तथा घरेलु क्षेत्रको लागि भने देशभित्रकै आपूर्तिले धानिरहेको घिसिङ बताउँछन् ।
‘अहिले कुनै पनि पावरप्लान्ट विद्युत् उत्पादन भइसकेर खेर गएको छैन । विद्युत् उत्पादन भइसकेको सबै विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्’, निर्देशक घिसिङ भने, ‘उत्पादन भएर तयारी अवस्थामा रहेका केही विद्युत् पनि एक÷दुई दिनमै प्रसारण लाइनमा जोडिने तयारी भइरहेको छ ।’
बर्खाको समयमा २२ मेघावाट विद्युत् उत्पादन गर्ने क्षमता नेपालसँग रहेको र अहिलेको समयमा पानीको बहाब कम हुने भएकाले विद्युत् उत्पादन सधैँ एकनास नहुने उनले बताए ।
अहिले मुलुकमा दैनिक ३ करोड १० लाख युनिट विद्युत् खपत हुन्छ । त्यो पनि समयअनुसार नै फरक–फरक हुने उनी बताउँछन् । अब लोडसेडिङ हुन्छ कि भन्ने भ्रम राख्नु नपर्ने उनले बताए ।
‘बाहिर लोडसेडिङको हल्ला भए हामी त्यसो हुन दिदैनौँ’, उनले भने, ‘अहिलेको क्षणिक अभावलाई हेरेर आलोचना नगर्न मेरो आग्रह छ ।’
प्राधिकरणले बिहारबाट १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ९.८८ रुपैयाँ र बिहारबाटै ३३ केभीको प्रसारण लाइनमार्फत प्रतियुनिट १०.६८ रुपैयाँमा बिजुली खरिद गरिरहेको थियो ।
उत्तराखण्डबाट ११ केभीको प्रसारण लाइनमार्फत ११.३७ रुपैयाँ भारुमा बिजुली आयात गरिरहेको थियो । कुल ४०० केभी क्षमताको अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत प्रतियुनिट ७.३६ रुपैयाँमा बिजुली आयात भइरहेको थियो ।
सो बिजुली भारतीय नोडल एजेन्सी एनभीभीएनमार्फत आयात गरेको हो । पीटीसी इण्डियामार्फत १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६.५२ रुपैयाँ र इनर्जी एक्सचेञ्ज मार्केटबाट औसतमा प्रतियुनिट ११.४५ रुपैयाँमा बिजुली आयात भइरहेको थियो ।
नियमितरूपमा बिजुली उपलब्ध गराइरहेका एजेन्सीले बिजुली दिन नसक्ने बताएपछि इनर्जी एक्सचेन्ज मात्रै बाँकी रहेको जानकारी दिँदै उनले आकस्मिकरूपमा आइपरेको समस्याका आधारमा लोडसेडिङ भयो वा गरियो भनेर बुझ्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया