काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले संगठनलाई ठीक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताए ।
उनले नेविसंघ अब राजनीतिक मुद्दाहरुमा नभई शैक्षिक मुद्दाहरुलाई अघि बढाउनतर्फ लाग्ने प्रतिबद्धता जनाए । सभापति शेर्पाले अब नेविसंघले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिए । उनले स्थानीय निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने भएकोले सो समयावधिमै महाधिवेशन गर्ने पनि बताए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका निवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय निर्वाचनलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसंघले अब काम गर्ने बताए । उनले राजनीतिक मुद्दाहरूभन्दा शैक्षिक मुद्दाहरु बोकेर नेविसंघ अब अगाडि बढ्ने बेला भएको बताए ।
केन्द्रीय सदस्य ढुंगानाले लामो समय नेविसंघको नेतृत्वलाई लिएर उमेर हदको कुरा चले पनि अबको नेतृत्वले युवाअवस्थामै नेतृत्व लिन सफल छौँ भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया