काठमाडौँ -सरकारले चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरकारले यसअघि विचाराधीन रहेको प्रतिस्थापन विधेयक फिर्ता गर्दै नयाँ विधेयक संसद्मा दर्ता गरेको हो । दर्ता विधेयक यसअघि दर्ता भएको प्रतिस्थापन विधेयकभन्दा फरक छैन । विधेयकले यसअघि अध्यादेश जारी भएपछिका भोग र दायित्वलाई भने बचाउ गरेको छ ।
कानुनमन्त्री शेरबहादुर तामाङले नयाँ विधेयक संसद्मा दर्ता भएको बताउनुभयो । तामाङले भन्नुभयो, ‘‘मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ विधेयक दर्ता भएको छ । यसअघि दर्ता भएको प्रतिस्थापन विधेयकका विषयवस्तु नै नयाँ विधेयकमा समेटिएका छन् ।’’
यसअघि तत्कालीन सरकारले जारी गरेका अध्यादेशभन्दा धेरै विषयवस्तु परिमार्जन भएका छन् । अनशनतरत डा. केसीले उठाउँदै आएका केही विषयवस्तु पनि परिमार्जित भएका छन् । दश वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नदिने व्यवस्थालाई नयाँ विधेयकले समेटेको छैन । यस्तै, एक विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने विषय पनि नयाँ विधेयकमा समेटिएको छैन । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया