तरुण दलको अध्यक्षमा शुभराम बस्नेतको चर्चा, अरु को-को छन् दाबेदार ?

लोकपथ
7.1k
Shares

काठमाडौं । लोकतन्त्रका लागि लामो संघर्ष गरेको र आफूलाई नेपालको ठूलो लोकतान्त्रिक दलको जस लिने नेपाली कांग्रेसमा बेला–बेला आन्तरिक लोकतन्त्र धरापमा परेको बहस हुन्छ । जब पार्टीको महाधिवेशन आउँछ, जब भातृ संगठन लथालिंग अवस्थामा पुग्छ तब यो बहस उत्कर्षमा पुग्ने गर्दछ । माउपार्टीको जगलाई बलियो बनाउने भातृ संगठनहरु यतिबेला नेतृत्वविहीन बनेका छन् ।

निरन्तर अधिवेशन हुन नसक्नु, आएका तदर्थ कमिटीहरुमा पनि चरम गुटबन्दी हुनुले कांग्रेसको आन्तरिक लोकतन्त्र थप कमजोर बनेको छ । हरेक निर्वाचनमा भातृ तथा शुभेच्छकु संस्थाहरुको महत्वपूर्ण भूमिका हुन्छ । तर स्थानीय निर्वाचनको मिति नजिकिए पनि कांग्रेसका मुख्य भातृ संस्थाहरु नेतृत्वविहीन बन्नुले पार्टीमा थप अन्यौलता छाएको छ । पार्टी नारासहित गाउँ–गाउँमा चुनावी कार्यक्रममा व्यस्त भए पनि पुरानादेखि नयाँ आएकाहरु भातृ संगठनमा कस्तो नेतृत्वको कमिटी आउला भनेर नजर नेताका घरतिर डुलाउन थालेका छन् । १ दशकभन्दा लामो समयदेखि कलेजमा स्ववियु निर्वाचन हुन नसक्नु, भातृ संगठनको अधिवेशन निरन्तर हुन नसक्नुजस्ता कारणले धेरै विद्यार्थीनेताहरु आफ्नो ऊर्जाशील समय त्यतिकै व्यतित गर्न बाध्य छन् । गत फागुन ३ गते म्याद सकिएका सबै भातृ तथा शुभेच्छुक संस्थाहरुको कमिटी भंग गर्ने निर्णय गरेसँगै यतिबेला नयाँ कमिटीको लागि विद्यार्थीनेताहरु लागेका छन् । कांग्रेसको भुख्य भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतमा आगामी नेतृत्व कस्तो आउने भन्ने चर्चा चल्न थालेको छ ।

पार्टीभित्रका तरुण युवाहरुलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने तरुण दल यतिबेला नेतृत्वविहीन हुन पुगेको छ । सो क्रममा नेपाल तरुण दलको नेतृत्वमा को आउने भन्ने चर्चाका बीच केही नामहरु बाहिर आएका छन् । जसमा नेताहरु शुभराम बस्नेत, विद्वान गुरुङ, भागवत रेग्मी, उत्तम चापागाईँलगायत आकांक्षीको रुपमा रहेका छन् ।

लामो समय नेपाल विद्यार्थी संघमा काम गरेका नेता हुन्, शुभराम बस्नेत । केन्द्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट मानिने बस्नेत हक्की स्वभावका मानिन्छन् । नेपाल विद्यार्थी संघको नेतृत्वका लागि समेत नाम अघि आएका बस्नेतलाई तरुण दलको अध्यक्षको रुपमा अघि सारिने तयारी गरेको कांग्रेसको माथिल्लो वृत्तमा समेत चर्चा चल्न थालेको छ । २०६५ सालमा पुतलीसडकस्थित शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति बनेका नेता बस्नेत विद्यार्थी राजनीतिमा चर्चित मानिन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका बस्नेतले कानुनमा स्नातक गरेका छन् । २०४९ सालमा स्कुल पढ्दै गर्दा सोलुखुम्बुको हिमगंगा स्कुलमा नेपाल विद्यार्थी संघको अध्यक्ष बन्दै २०७२ सालमा सम्पन्न नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए बस्नेत । कांग्रेसको पहिलो र दोस्रो पुस्ताका नेताहरुसँग समेत राम्रो सम्बन्ध रहेका बस्नेत राजनीतिसँगै खेलकुद क्षेत्रमा समेत अब्बल मानिन्छन् । राजनीतिक पृष्ठभूमिबाट आएका बस्नेतलाई तरुण दलको नेतृत्व दिएर संगठनलाई थप चलायमान बनाउन सकिने नेताहरुले बताउँदै आएका छन् । तरुण दलमा नयाँ कमिटी ल्याउने चर्चापछि नेता बस्नेतले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् । अन्य आकांक्षीहरुभन्दा पार्टी संगठनलाई थप चलायमान बनाउन सक्ने भन्दै नेताहरुले आफ्नो नाम चर्चामा रहेको नेता बस्नेतको दाबी रहेको छ ।

त्यसैगरी तरुण दलको अध्यक्षको आकांक्षा राख्ने अर्को व्यक्ति हुन् विद्वान गुरुङ । गुरुङ हाल नेपाल तरुण दलको केन्द्रीय कोषाध्यक्ष रहेका छन् । २०७३ सालमा सम्पन्न पोखरा महाधिवेशनबाट कोषाध्यक्ष बनेका गुरुङलाई संस्थापन समुहबाटै अध्यक्षका लागि अघि सार्न लागिएको छ । तर २०७३ सालमा कोषाध्यक्ष भए पनि थप संगठन विस्तार गर्न नसकेको भन्दै वर्तमान नेतृत्वको आलोचना भइरहेको छ । सो क्रममा गुरुङसहित वर्तमान कमिटीका अन्य पदाधिकारीलाई अघि सार्दा संगठन विस्तारमा हुन नसक्ने हो कि भन्ने संशय पैदा भइरहेको छ ।

त्यसैगरी तरुण दलको अध्यक्षका लागि चर्चामा आएको अर्को नाम हो, भागवत रेग्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अस्कल क्याम्पसमा नेविसंघको अध्यक्ष हुँदा उपाध्यक्ष भएका रेग्मी पोखरा महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका थिए । केन्द्रमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य प्रदीप पौडेल निकट मानिने रेग्मी यसअघि समेत तरुण दल अध्यक्षको मुख्य आकांक्षी रहेका थिए । हक्की स्वभावका मानिने रेग्मीलाई अध्यक्ष बनाउनका लागि कांग्रेसको माथिल्लो तहमा समेत चर्चा चल्न थालेको छ ।

त्यसैगरी नेपाल तरुण दलको अध्यक्षको लागि आएको अर्को नाम हो उत्तमकुमार चापागाईँ । २०७३ सालमा सम्पन्न तरुण दलको उपाध्यक्ष बनेका हुन्, चापागाईँ । नयाँ कमिटी आउँदै गर्दा उनलाई कांग्रेस नेता कृष्ण सिटौला समूहले अघि सार्ने देखिन्छ ।

यता नेविसंघमा समेत नयाँ नेतृत्वका लागि चर्चा चलेको छ । संगठन र विभिन्न क्याम्पसमा काम गरेको नेताहरु अध्यक्षको आकांक्षीको रुपमा अघि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?