मिटर रिडरको लापर्बाहीले बढी रकम तिर्नुप¥यो

—मेनका चौधरीगुलरिया, बर्दिया, असोज २७ ।विद्युत् प्राधिकरणका मिटर रिडरले नियमित ग्राहकको घरघरमा रिडिङ गर्न नजाँदा बारबर्दिया–१ का ग्राहक विद्युत् खपत गरेकोभन्दा बढी रकम तिर्न बाध्य भएका छन् ।बारबर्दिया नगरपालिका–१ दाङपुरमा विद्युत्को मिटर रिडिङ गर्न असार र साउन महिनामा नगएपछि भदौ महिनामा असार र साउनको २५ प्रतिशत जरिवानासहित तीन महिनाको विद्युत् महशुल बुझाउन बाध्य भएका हुन् । मिटर रिडर नियमित नआउँदा धेरैपटक जरिवानासहित विद्युत् खपतभन्दा बढी रकम तिर्न परेको दाङपुरका विद्युत् ग्राहक जगतराम थारुले बताए ।विगतका महिनामा मासिक रु २०० का दरले बुझाउँदै आएकोमा यस पटक बुझाउन जाँदा जरिवानासहित दुई महिनाको एक हजार २५८ रुपैयाँ ७५ पैसा बुझाउनु परेको थारुले दुखेसो पोखे ।जगतरामले आफ्नो टोलका करिब २५ घरको बील लिएर विद्युत् महशुल बुझाउन गएको बताउँदै, सबैको बीलमा रहेको रकम करिब रु चार हजार रहेकोमा जरिवानासहित नौ हजारभन्दा बढी नै बुझाउनु परेको बताए । नियमित सिएफएल तथा एलइडी बल्व बाल्दा पनि कुनै महिनामा १०० भन्दा कमको बील आउने र कुनै महिनामा रु एक हजारभन्दा बढी विद्युत् महशुल तिर्न परेको दाङपुरकै गुरुप्रसाद चौधरी बताउछन । विद्युत मिटर पढ्नेले लापर्बाही गरेर बील काट्नाले र कुनै बेला आफ्नो घरमै वा ग्राहकको घरमा नपुगी अन्दाजको भरमा मिटर पढ्ने गरेको ग्राहकको आरोप पनि रहेको छ ।यस्तै, दाङपुरकै ग्राहक रजन्तु थारुको घरको मिटरमा गत जेठ महिनामा मिटर रिडिङ गर्दा एक हजार ६२ युनिट हालको अंक थियो तर दुई महिनापछि मात्र भदौ महिनामा रिडिङ गरेको बीलमा साविक अंक एक हजार ८२ थियो र हालको एक हजार १४६ रहेको छ । यो अंक हेर्दा अघिल्लो महिनामा बील काटेको जस्तो देखिने तर त्यो बील ग्राहकसम्म नपुगेकाले घरमै बसेर बील काटेको होकी भन्ने अनुमान लगाउन सक्ने ठाउँ रहेको रजन्तु थारुले बताए ।विद्युत् मिटर पढ्न आउने रिडरसँग नियमित गुनासो गर्दा बील काट्न नआए पुरानो बील लिएर विद्युत् महशुल बुझाउन जानु होला भन्ने गरेको ग्राहक बताउँछन् ।मिटर रिडरको भनाइ अनुसार विद्युत् महशुल बुझाउन जाने हो भने, दिनभरिको समय दिएर मधुवन नगरपालिकाको कुसुम्बा बजार रहेको विद्युत् महशुल बुझाउने शाखामा २५ किलोमिटरको दूरीमा बबई नदी तरेर जानुपर्ने वा सदरमुकाम गुलरिया ३५ किलोमिटरको बाटो भएर दिनभरि लाइनमा बस्नुपर्ने ग्राहकको भनाइ रहेको छ ।हरेक महिनामा रु १०० विद्युत् महशुल बुझाउन रु ५०० भन्दा बढी खर्च गरेर जानुपर्ने बाध्यता रहेको बारबर्दिया नगरपालिका–१ का विद्युत् सेवाग्राहीको भनाइ रहेको छ । अब स्थानीय तह भइसक्दा पनि महशुल बुझाउन सदरमुकाम वा शाखा कार्यालयमा जानुपर्ने बाध्यता रहेको छ ।यसलाई नगरपालिका वा वडा कार्यालयमा नै विद्युत् महशुल बुझाउने व्यवस्था मिलाउन र विद्युत् मिटर पढ्नेले नियमित र सत्यतथ्यरुपमा बील काटिदिन पनि ग्राहकले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?