मुस्ताङ दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत पोखरा ल्याइयो

बागलुङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको ट्रिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् । 

दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको ट्रिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिए । 

घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । “घटनास्थलमा उद्धार चलिरहेको छ, सबै विवरण आउन बाँकी छ”, प्रजिअ पौडेलले भने । 

घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । 

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा विरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनीयर जगत प्रजापतिले बताए । सोही निर्माण कम्पनीको ट्रिपर दुर्घटनामा परेको हुन सक्ने बताइएको छ । घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?