तातोपानी जोड्ने सडक कालोपत्र सुरु

लोकपथ
0
Shares

म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्र गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिए। “प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर कालोपत्र हुन्छ”, उनले भने, “बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक कालोपत्रका लागि तयार भएको छ ।”

प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्र गर्न लागिएको हो । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले चैत महिनाभित्र बेनीबाट तातोपानीको सडक कालोपत्र गरिसक्ने बताए ।
विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?