नब्बे करोडमा पुनर्निर्माण गर्ने भनिएको दरबार हाई स्कूलमा ‘सिन्को’ पनि भाँचिएन (फोटो फिचर)

स्थापना : विसं १९१० साल 
रानीपोखरीमा स्थानान्तरण : १९४८ साल 
नाम परिवर्तन : २०२४ साल 
हालको नाम : भानु माध्यमिक विद्यालय

देशको अग्रणी शिक्षालय हो दरबार हाई स्कूल ।  दरबारिया परिवारको शिक्षाको लागि खुलेको यो विद्यालय अहिले सामान्य घरबारियाको पहुँचमा पुगेको त पुगेको छ तर यो एेतिहासिक दरबार स्कूलको अवस्था निकै जीर्ण भइसकेको छ । भानु माध्यमिक विद्यालय बनाइएको यो स्कूल आम नागरिकका छोराछोरी पढ्छन् ।

राजधानी असन बजारदेखि बहिर टुँडीखेल, रानीपोखरीको छेउ खुला शोभायमान र महत्वपूर्ण थलोमा छ ।

यही हार्इ स्कूलबाट उत्पादन भएका विद्यार्थी देश विदेशका विभिन्न ठाउँमा पुगिसके । देशभित्र राजनीति, शक्तिका अनेक कित्तामा उभिए । तर, यो विद्यालय घुँडा टेक्ने अवस्था छ । 

०७२ वैशाख १२ गते गएको भूकम्पले यो विद्यालायमा क्षति पुर्‍याएको थियो । यसको पुनर्निर्माण गर्ने कि मर्मत सम्भार मात्र गर्ने भन्ने विषयमा छलफल समेत भयो । खाँटी नेपाली सामग्रीहरु बज्र (सुर्कि, चुन, मास, र चाकुको मिश्रण), इट्टा र काठको प्रयोग गरी निर्माण  गरिएको दरबार हाई स्कूल नेपालको इतिहासमा सय वर्ष पुरानो सम्पदामध्ये एक हो ।

राणा कालमा निर्मित युरोपियन शैलीको यो भवनमा वि.सं.  ०४२ सालमा कक्षा सञ्चालन भइरहेको बेला कक्षा १० को कोठाको तला भत्किँदा दरबार हाई स्कूलका छात्र–छात्राहरु घाइते भएका थिए ।

त्यसबेला नेपाल सरकारबाट प्राप्त भएको सरकारी अनुदानबाट भित्री भागको दुवै तला र दुवै कौसी ढलान गरी मर्मत सम्भार गरिएको थियो ।

त्यसपछि २०४५ सालमा गएको भूकम्पले पनि हाई स्कूललाई आंशिक रुपमा क्षति पुर्‍याएपछि  केही भाग मर्मत गरिएको थियो । 

अहिले पुनर्निर्माणका लागि चीन सरकारसँग सम्झौता भएको थियो । 

सन् २०१७ को जनवरीदेखि विद्यालय पुनर्निर्माण हुने भने पनि त्यसको कुनै तरखर देखिएको छैन ।

विद्यालय पुनर्निर्माणका लागि नेपाल र चिनियाँ सरकारबीच ९० करोड १० लाखको सम्झौता भएको छ । चिनियाँ सरकारले १८ महिनामा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने योजना रहेको छ । तर, यो योजना कहिले सफल हुन्छ यसैमा प्रश्न चिह्न देखिएको छ ।

अहिले स्कूलकै मैदानमा पाल हालेर विद्यार्थीलाई अध्यापन गराउँदै आइएको छ ।

पुनर्निर्माण हुन नसकेको यो एेतिहासिक स्कूलका केही तस्वीर लोकपथकर्मी विनोद थापाले खिचेका छन्ः

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?