राजपा अध्यक्ष मण्डलका नेतामा हैसियत गुम्ने आशंका

काठमाडौं । राजपाको अध्यक्ष मण्डलका केही नेताहरूले मौकाको खोजीमा रहेका छन् । पार्टी एकीकरण गरेपछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको वरिपरि शक्ति मडारिन थालेपछि केही नेताहरूमा उनीहरूको राजनीतिक हैसियत सकिने चिन्ता बढन थालेको छ ।

राजपाको राजनीतिक समितिको बैठक असार २१ देखि शुरू भएको छ । तर पार्टीले गर्नुपर्ने कामलाई पछाडि धेकेलेको देखिएको छ । संसद गठन भएको ५ महिना भइसकेको छ । तर संसदीय दलको नेता चयन हुन सकेको छैन् । सदनमा सचेतक र प्रमुख सचेतक तोकिएको छैन् । 

पार्टीमा अब अध्यक्ष मण्डलको यो राजनीतिक विधिलाई हटाउने पर्ने माग बढेपछि केही नेताहरूलाई हैसियत गुम्ने आंशकाले सताउन थालेको छ ।

राजपा एकीकरण भएको बेला ६ राजनीतिक दलमा ठूला पार्टीको रूपमा ठाकुर नेतृत्वको तमलोपा र महतो नेतृत्वको सदभावना थियो । अरू राजनीतिक दल समावेशी सदस्यको सहयोगमा संसद र संविधान सभामा प्रतिनिधित्व गरिरहेका थिए ।

त्यसै अनुरूप यी दलका नेताहरूबीच सीटको बाँडफाँड भयो । चुनाव अध्यक्षहरूका लागि राम्रो रहयो । सबै अध्यक्षहरूले जीत हात पारे ।

चुनाव मात्रै जितेर होइन संसदमा नेताको चुनाव गर्ने कामलाई अल्झाइयो ।

पछिल्लो समय ८०० बढी केन्द्रीय सदस्य भएको पार्टी राजपामा अधिकांशको समर्थन ठाकुर तर्फ ओइरिन थालेको छ । गएको राजनीतिक समितिको बैठकबाट ठाकुरको नेतृत्वलाई बलियो पार्ने सहमति बनेपछि त्यसमा सहभागी अध्यक्ष मण्डलका केही नेताहरूमा आंशका पैदा भएको छ । राजनीतिक समितिले अब पार्टीलाई अध्यक्षीय प्रणालीमा लाने निर्णय समेत गरेको छ । अध्यक्ष प्रणालीमा जाने निर्णय भएपछि अध्यक्ष मण्डलका नेताहरूको भूमिकालाई कसरी समान बनाउने त्यसको प्रयास भइरहेको छ ।

यसअघिको बैठकमा अध्यक्ष मण्डलका सदस्यहरूले विधानको मस्यौदा प्रस्तुत गरेका थिए । तर त्यो विधान मध्ये कुनैलाई मानिएन । ती विधानहरूको मस्यौदालाई समेत ध्यान दिएर पार्टीको विधान बनाउन विधान परिमार्जन समिति बनाइयो । त्यो ३ सदस्यीय समितिमा पार्टीका सांसद लक्षमण लाल कर्ण सर्वेन्द्रनाथ शुक्ल र बृषेशचन्द्र लाल रहेका छन् ।

जारी राजनीतिक समितिको बैठकमा संसदीय दलको नेताको चुनाव हुने कुरो छैन् । यसमा पार्टीको विधान र महाधिवेशन कहाँ गर्ने विषयमा मुख्य छलफल हुने भएको छ । पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले भने “ पार्टीमा महाधिवेशन कहाँ गर्ने प्रस्तावहरू आएका छन् । बीरगंज, जनकपुर र राजविराजमा महाधिवेशन गर्ने प्रस्ताव आएका छन् तर छलफल भने भइसकेको छैन् ।”

तर पार्टीका अर्का नेताले संसदीय दलको नेताको चुनाव नगर्नुको पछाडि अध्यक्ष मण्डलका नेताहरूमाझ शक्ति बाँडफाँडको विषय नमिलेकोले ढिला भएको दाबी गर्छन् । ती नेताका अनुसार पार्टीका विधानमा राखिने पद र त्यस पदमा आफ्ना दलका नेताहरूको उपस्थितिको सुनिश्चितता खोजिएको छ ।

संयोजक  ठाकुरलाई  संसदीय दलको नेता र पार्टी अध्यक्षमा पार्टीको नेतृत्व पंक्तिले सुनिश्चित जस्तै गरेको छ । तर यसमा महतो पक्षले आफ्नो हैसियत खोजेको छ । 

नयाँ विधानमा कतिवटा उपाध्यक्ष राख्ने , सचिव, महासचिव लगायतका निर्माण गर्ने त्यसबारे पार्टीमा छलफल भइरहेको छ । अहिले नै राजनीतिक समितिमा धेरै उपाध्यक्षहरू अटाउन सकेका छ्र्रैनन् ।  महेन्द्र राय यादव निकटका एक नेताले नाम नखुलाउने शर्तमा पार्टीका एक नेताले भने “ठाकुरको नेतृत्वमा पार्टी अघि बढाउँदा कसैलाई आपत्ति हुन्छ भने ती व्यक्ति पार्टीलाई छोडेर जान सक्छन् । उनका लागि त्यसबाहेक कुनै विकल्प हुँदैन् ।”

यादवले सरकारमा जान ठाकुरको पार्टी फुटाएर अर्को पार्टी गठन गरेका थिए । पार्टी एकीकरणमा गइसकेपछि पुरानो राजनीतिक चालबाजी गर्ने छुट नैतिकरूपमा यादवलाई नभएको उनले जनाए । उनी भन्छन् “यादवजीले फुटलाई पुस्टि गर्न नसकेकाले फेरि पार्टी फुटाउन उनकैलागि राम्रो हुँदैन् ।”

तर महतो निकटका पार्टी नेताले “ सदभावना पार्टीको हैसियत र इतिहासलाई बिर्सेर पार्टी एकीकरणलाई अगाडि बढाउन खोजिए त्यो हामीलाई मान्य हुँदैन् ।”

ठाकुर निकट नेताले भने “ हामीले पार्टी फुटेको अनुभव भोगेका र्छौ । त्यसैले कोही सहयोग गर्छ कि गर्दैन त्यो लिएर राजनीति चल्दैन् ।सकेसम्म मिलाउने हो । नभए के नै गर्न सकिन्छ राजनीतिमा ?”

मौकाको खोजी गर्ने अवसरको राजनीतिक खेल समाप्त नभएसम्म संसदीय दलको नेताको चयन हुन सजिलो नदेखिएको त्यो नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?