जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ सार्वजनिक

लोकपथ
49
Shares

काठमाडौं । सिने पत्रकार एवं लेखक जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ सार्वजनिक भएको छ ।

नेपाली सिने जगत र चलचित्र उद्योगलाई विकसित तुल्याउन लागि पर्ने ६१ पात्रका कथा र उनीहरुको योगदानलाई पुस्तकमा समेटिएको लेखक पराजुलीले बताए । पुस्तकमा नेपाली सिने जगतमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका महिला, सिने नगरीमा अहिलेसम्म योगदान दिएका निर्देशक र कलाकारहरुको बारेमा तथ्यपरक रुपमा लेखिएको लेखक पराजुलीको भनाइ छ ।

उनले पुस्तकमा नेपाली सिने क्षेत्रका विभिन्न कालखण्डका व्यक्तिहरुको बारेमा ५० वर्षे नेपाली सिनेमा क्षेत्रमा देखा परेका समस्या, सबल पक्ष र वर्तमान अवस्थालाई व्याख्यात्मकरुपमा विश्लेषण गरेका छन् ।

लेखक पराजलीले भने, ‘यो पुस्तकको रुपमा आए पनि यो मैले डेढ दशकदेखि गरिरहेको सिने पत्रकारिताको प्याकेज हो । हामीले फरक फरक स्टोरी एक एक व्यक्तिका त गर्दै आएका छौँ तर यो एउटा एकै ठाउँमा व्याख्यात्मक रुपमा ६१ जना नेपाली चलचित्र क्षेत्रका विभिन्न कालखण्डका पात्रहरुका अनुभवलाई उहाँहरुकै दृष्टिकोणबाट हिजोको नेपाली चलचित्र, बीचमा र आज कस्तो छ भन्ने कुराहरु लेखेको छु । नेपाली सिने जगतको ५० वर्षे इतिहास पुग्दासम्म कस्तो रह्यो त नेपाली सिने नगरी भन्ने बारेमा लेखेको छु ।’

लेखक पराजुलीले यो पुस्तकमा २०२६ सालदेखिको नेपाली चलचित्रको बारेमा विस्तृतरुपमा जानकारी मिल्ने बताए । उनले नेपाली चलचित्र सुरु भएदेखिको चलचित्र क्षेत्रको नेतृत्व, मतभेद, शाही नेपाली चलचित्र संस्थानमा भएको मत मतान्तरका बारेमा पनि पुस्तकमा खुलाइएको बताए । लेखक पराजुलीले नेपाली चलचित्र सुरु भएको बेलामा नेतृत्व गरेका यादव खरेल, स्व. चेतन कार्कीको बारेमा पनि पुस्तकमा विस्तृतमा समेटिएको पनि बताए । लेखक पराजुलीले पुस्तकमा विशेष गरेर नेपाली सिने क्षेत्रका कलाकारहरुका चुनौति र सफलताको बारेमा पनि पुस्तकमा समावेश गरेको बताए ।

लेखक पराजुलीले भने, ‘यो पुस्तकले विसं २०२६ सालदेखिको समय बोल्छ । २०२२ सालमा आमा चलचित्र बनेको थियो । त्यसपछि २०२६ सालमा दरबारको चाहनामा शाही नेपाली चलचित्र संस्थानको शुरुवात भएको थियो । जसको प्रारुप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहदेवबाट भएको थियो । उहाँको देहान्तपछि वीरन्द्र राजा भएपछि संस्थागत रुपमा अघि बढेको थियो । जतिबेला यादव खरेलले लिडिङ गर्नुभएको थियो । त्यही ताकाबाट स्व. चेतन कार्की कर्मचारीको रुपमा शाही नेपाली चलचित्र संस्थानमा दशकौँ काम गर्नुभयो । उहाँहरुको अनुभव, विचार, मत मतान्तरलाई पनि यसमा समेटेको छु ।’

लेखक पराजुलीले पुस्तकमा महानायक राजेश हमालको चलचित्र क्षेत्रमा प्रवेश र योगदानका बारेमा पनि चर्चा गरेको बताए । पुस्तकमा महानायक हमाल र महानायिका मानन्धरको फिल्म क्षेत्रको लामो सहकार्य र अमेरिका पलायनसम्मको कथा पनि पुस्तकमा समेटेको बताए ।

लेखक पराजुलीले भने, ‘अर्को एउटा च्याप्टर राखेको छु, राजेश हमाल युगदेखि युगसम्म भनेर । एउटा कालखण्डमा नेपाली समाजमा हिरो भनेकै राजेश हमाल भन्ने थियो । जनमानसमा आफ्ना कथा बोकेर हिँड्ने नायक भनेकै राजेश हमाल भन्ने थियो । राजेश हमालले त्यो बेला एकैदिनमा ४ वटा फिल्म शुटिङ गरेको कुरा पनि पुस्तकमा खुलाउनु भएको छ । उहाँसँग जोडिएर आउने पात्रहरु जस्तै करिष्मा मानन्धर । जसले सबैभन्दा लामो सहकार्य नै राजेश हमालसँग गर्नुभएको छ । उहाँहरुका भेट हुँदाको किस्साहरु, उहाँहरुको पहिलो फिल्म मूहुर्त भएर पनि किन शुटिङ भएन ? किन दुवै जनाले छोड्नुभयो भन्ने कुराहरु पनि यसमा राखेको छु ।’

लेखक पराजुलीले यस्ता कुनै पनि क्षेत्रको इतिहास बोकेका पुस्तकहरु सोही विषय अध्ययनरत विद्यार्थीहरुको जानकारीका लागि पाठ्यक्रममा सामवेश गर्नुपर्ने बताए । उनले यो पुस्तक शिक्षा, संस्कृति र सञ्चार मन्त्रालयसँग जोडिने भएकोले पाठ्यक्रममा समावेश गर्दा यसले शिक्षा, संस्कृति र सञ्चारको क्षेत्रलाई थप टेवा पुग्ने उनको भनाइ छ ।

लेखक पराजुलीले भने, ‘यो पुस्तकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन वटै मन्त्रालयसँग सम्बन्ध राख्छ । सञ्चार मन्त्रालयले पत्रकारिता, चलचित्रसँग सम्बन्ध राख्छ । संस्कृति मन्त्रालय, चलचित्रले संस्कृतिलाई चिनाउँछ त्यसकारण पनि संस्कृति मन्त्रालयसँग यो जोडिन्छ । अर्को शिक्षा मन्त्रालय, शैक्षिक रुपमा हेर्दा हरेक नेपालीले, हरेक विद्यार्थीले पढ्नैपर्ने कला, संस्कृति । नेपालको अर्थतन्त्रमा एउटा ठूलो हिस्सा नेपाली चलचित्र उद्योगले पनि राख्नु पर्ने हो तर शिक्षाको कमीको कारणले पनि हुन सकेको छैन । हामीले चलचित्र, चलचित्रका पात्रलाई बुझेकै छैनौँ र राज्यले त्यसमा चासो दिएको छैन । यस्ता पुस्तकहरुलाई शिक्षा मन्त्रालयले पनि एउटा शैक्षिक रुपमा पनि हेर्न र राख्न सक्यो भने त्यसबाट राम्रो हुनेछ ।’

लेखक पराजुलीको पुस्तक ‘क्लोज अप’ मा विशेष गरेर नेपाली चलचित्र क्षेत्रको अहिलेसम्मको कालखण्डलाई समेटिएको छ । पुस्तक विशेष गरेर सिने क्षेत्रलाई अहिलेसम्म ल्याउनका लागि योगदान दिएका सिनेकर्मीहरुको बारेमा पुस्तक तयार भएको छ । पुस्तकमा अझै केही सिने नगरीलाई महत्वपूर्ण योगदान दिने सिनेकर्मीहरुको बारेमा पर्याप्त तथ्य नहुँदा छुटेको पनि लेखक पराजुलीले बताए ।

उनले आगामी संस्करणमा छुटेका ती सिनेपात्रलाई समावेश गर्दै भएका केही त्रुटि र गुनासाहरुलाई परिमार्ज गर्ने प्रतिबद्धता पनि जनाए । लेखक पराजुलीले सिने क्षेत्रको यो इतिहास अहिलेसम्म एकै ठाउँमा कतै नभेटेको र त्यही इतिहासलाई एक ठाउँमा बनाउने प्रयास स्वरुप पुस्तक तयार गरेको बताए । यो पुस्तकले नेपाली चलचित्र उद्योग र चलचित्रसम्बन्धी अध्ययनरत विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने लेखक पराजुलीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?