सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले कांग्रेसले उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लगाउने बताएका हुन् ।
अहिले पार्टी विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन पार्टीले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउँदै डा. महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लगाउने बताए ।
‘यस पटक विगतमा भएजस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहनेछैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोसिस गर्छौँ’, प्रवक्ता महतले भने ।
उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्नसक्ने पनि बताए। उनले भने, ‘जुन तहको हो उम्मेदवारी हो, त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।’
कांग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेसले आरम्भ गरेको ‘घर–घर जाऔं नेपाली कांग्रेसलाई जिताऔँ’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले यो अभियानका क्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरुले गरेका काम, तीनै तहका सरकारले गरेको कामका बारेमा नागरिकका बीचमा जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया