काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले धर्म निरपेक्षताका कारण नेपालीको सभ्यता नै संकटमा परेको भन्दै हिन्दू राष्ट्र अपरिहार्य भएको बताएका छन् ।
शनिबार हिन्दु राष्ट्र जागरण अभियानले आयोजना गरेको प्रबुद्व नागरिक गोष्ठी तथा साहित्य विमोचन कार्यक्रममा बोल्दै सभ्यता, संस्कृति र परम्परा नै संकटमा परेको बताएका हुन् ।
‘हामी बिस्तारै धर्मबाट अलग हुँदै जाँदा, थिचिँदै, मिचिँदै र पापी हुँदै गइरहेको र संविधानमा धर्मनिरपेक्षता भन्ने शब्द लेखेपछि अझ मुखरित गरेकोले धर्मनिरपेक्षता भन्ने शब्दले हामीलाई संकुचनमा पारेको छ’, पराजुलीले देशलाई संकटमा धकेल्ने गरी परिस्थिति विकास भइरहेको बताउँदै भने, ‘धर्मनिरपेक्षता हामीलाई चाँहिदैन ।’
सरकार हिन्दु राष्ट्र अभियानविरुद्ध प्रस्तुत भएमा आफूहरु पेन्सन छोड्न तयार रहेको तर धर्म , संस्कार र संस्कृति छाड्न नसक्ने बताए । उनले हिन्दु राष्ट्र जागरण अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए ।
हिन्दु धर्मभन्दा सर्वकृष्ट अरू कुनै पनि धर्म विश्व नभएकोले यो विश्वको सबैभन्दा राम्रो मानवताको कल्याण गर्ने धर्म भएको बताए । उनले भने, ‘हामी हिन्दु भएकोमा गर्व गर्नुपर्छ।’
विगतमा राष्ट्रको सेवा गर्ने सम्पूर्ण उच्च तह र ओहोदाका व्यक्तिहरूले हरी वंश पुरायणलाई छोएर सम्पूर्ण बालबच्चालाई स्मरण गर्दै सपथ लिनेगरेको स्मरण गराउँदै अहिले सबै हटाउँदै गएकोमा असन्तुष्टि व्यक्त गरे ।
विश्वका सबै राष्ट्रमा त्यस देशको धर्म ग्रन्थ लिएर सपत गर्ने प्रचलन रहेको र अमेरिकी राष्ट्रपतिले पनि निर्वाचन भएपश्चात् चर्चमा गएर प्रार्थनापछि बाइबल हातमा लिएर शपथ खाएको कुरा जोड्दै राष्ट्रका उच्चतहका र ओहोदाका व्यक्तिहरूले गीता लिएर शपथ लिनका लागि अनुरोध गरेका छन् ।
सो क्रममा बोल्दै पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले विदेशीको इसारामा प्रलोभनमा परेर नेपालका राजनीति नेतृत्वले हिन्दु राष्ट्र हटाएको आरोप लगाए। देशमा हिन्द राष्ट्र पुनर्स्थापना अनिवार्य भएको बताए ।
‘विदेशीको इशारामा प्रलोभनमा परी राजनीतिक नेतृत्वमा पुगेकाहरुले हिन्दु राष्ट्र हटाए’, पूर्वआइजीपी खरेलले भने ।
उनले सँसारमा धर्मसापेक्ष राष्ट्रहरु भएको उल्लेख गर्दै राज्यको धर्म हुँदैन भन्नेहरुले भ्रम छरिरहेको बताए ।
यो संसारमा सबैको धर्म रहेको उल्लेख गर्दै भने, ‘जसरी पानीको आफ्नो धर्म छ, खुर्सानी पिरो हुने धर्म छ, आगोको पोल्ने धर्म छ, बोटविरूको पनि धर्म हुन्छ त्यसैगरी मान्छे र राष्ट्रको धर्म हुनुपर्छ ।’
नेपालमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका साथ धर्मनिरपेक्षको विषय थोपिएको तर्क गरे । उनले प्रश्न गरे, ‘कसले भनेको राष्ट्रको धर्म हुँदैन ?’
नेपालका राजनीतिक गर्ने पण्डितहरूलाई खुलारूपमा धर्मको बारेमा सिकाउनु र पढाउनुपर्ने कुरामा जोड दिए । खरेलले एसियाका कयौँ देशको परापुर्वकालमा हिन्दु देश भएकोले धर्मलाई अतिक्रमण गरेर ती देशहरू एउटा टापु र नाम मात्रको देश रहेको बताए ।
देश र भुगोल हाम्रो हातबाट गयो भने त्यसलाई फिर्ता ल्याउन सकिने तर धर्म र संस्कृति गुम्यो भने त्यसलाई फिर्ता ल्याउन नसकिन भएकोले हामी सबै सचेत भएर धर्म संस्कृतिको संरक्षण र जागरणमा लाग्नु पर्ने बताए । उनले अरूको धर्म जतिनै राम्रो भए पनि आफ्नो धर्म छाड्नु नहुने र धर्म छाडेमा भयावह अवस्था हुने बताए ।
राजनीतिक नेतृत्वले लोभ र प्रलोभनमा परी विदेशीको आडमा, इसारामा देशको धर्म बेचेको भन्दै त्यसको निन्दा गर्दै एक मात्र हिन्दु राष्ट्र नेपाल हटाएकोमा आपत्ति जनाए ।
नेपाली सेनाका पूर्वउपरथी नरबहादुर कँडेलले नेपालललाई विश्वका हिन्दुहरूले पवित्र तीर्थस्थलको रूपमा हेर्ने हुँदा धार्मिक पर्यटनको विकास गर्दै पुनः हिन्दु राष्ट्र घोषणा आवश्यक रहेको बताए ।
नेपाल प्रहरीका पूर्वएआइजी कल्याण कुमार तिमिल्सिनाले हिन्दु राष्ट्र जागरण अभियानको बारेमा बताउँदै नेपालीको संस्कृति र हिन्दुत्वको स्वभिमानि भाव जगाउन यो अभियान सुरू गरेको बताए ।
डा. वासुदेव कृष्ण शास्त्रीको सभापतित्व भएको कार्यक्रममा विश्लेषक देवेश झाको समेत उपस्थिति रहेको थियो । नागरिक गोष्ठीमा जागरण अभियानको लागि प्रकाशित पुस्तक,स्टिकर तथा फोल्डरको पूर्ण परिचयको साथै विमोचन पनि गरिएको छ । राष्ट्रिय सभागृहमा सम्पन्न भएको प्रबुद्ध नागरिक गोष्ठी कार्यक्रममा ६ सयभन्दा बढी समाजका प्रबुद्ध व्यक्त्तिहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया