काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका हुन्।
गृहजिल्ला तनहुँको ऋषिङ गाउँकालिका कार्यसमितिले शनिबार वडानम्बर ६ मा पर्ने ढुङ्गाडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता पौडेलले जनतासामु परीक्षण भएर पूर्ण असफल भइसकेका ओलीलाई अब शंको सुविधा समेत नभएको जिकिर गरे।
‘जनतालाई सपना बाँडेर सत्तामा पुगेपछि आफैँले बाँडेका सपना र गरेका प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले देशलाई समृद्धि दिन सक्दैन,’ ओलीप्रति आक्रामक ढंगले प्रस्तुत भएका पौडेलले भने, ‘परीक्षणका क्रममा पूर्ण असफल भएकालाई अब शंकाको सुविधा दिने स्थिति पनि छैन।’
एमालेले गत निर्वाचनमा जारी गरेको घोषणा पत्रमा उल्लेख गरेका कुनै पनि योजना कार्यान्वयनमा नै आउन नसकेको पनि बताए।
‘चुनावअघि आफैँले भनेका योजना सुरुवात भएनन्। घोषणापत्रमा उल्लेख गरिएका कुनै पनि योजना कार्यान्वयन भएनन्,’ पौडेलले भने, ‘कार्यान्वयन मात्रै होइन, सुरुवात हुने सम्भावना नजिकसम्म पनि पुगेनन्।’
ओली नेतृत्वको सरकारका पालामा मुलुकले केही पनि प्राप्त गर्न नसकेको उनको दाबी थियो। ‘दुई तिहाइबराबरको जनादेश पाएर पनि ओलीले ५ वर्ष सरकार चलाउन सकेनन्। जति समय चलाए त्यो अवधिमा देशले केही प्राप्त गरेन,’ उनले भने।
जनताले दिएको दुईतिहाइलाई अलपत्र पार्ने नेताले फेरि जनतासँग मत माग्ने काम लोकतन्त्रमा नसुहाउने नेता पौडेलको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया