आगामी निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झार्छौँ : केपी ओली

लोकपथ
455
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सिमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दावी गरे ।

कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताईसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनको तर्क थियो । अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाई दिएको र माधव नेपालहरु अवको निर्वाचन पछि समाप्त हुने बताए ।

उनले भने, ‘एमालेलाई चौंथो पार्टी बनाउछु भन्छ कोही । अहिले चौंथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउछ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यो गठबन्धन केही होईन । बुढो कांग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होईन ? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईहरु । बुढाबुढी, ज्येष्ठ नागरिकहरुले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरु कांग्रेस, माओवादीबाट चेतिसकेका छन । उनीहरुले पनि कांग्रेसलाई भोट हाल्दैनन् ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटकपटक सचेत गराए । उनले सत्तारुढ दलहरुको निदहराम हुनेगरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए । सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरुलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताए । अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मटबाट हराउने उनले दोहोर्‍याए ।

अध्यक्ष ओलीले भने, ‘अव हामीले निर्वाचनको प्रतिक्षा गर्नुछ । र, निर्वाचनमा विजय हासिल गर्नुछ । हामीले यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरुको झलक दिनुछ, ताकि यिनीहरुको मनमा अहिल्यैदेखि ढ्याङ्ग्रो ठोकियोस् । अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यिनलाई अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस । यो गर्ने भनेको स्थानीय तह निर्वाचनमा हो । म यहीँ उत्साह बोकेर जान आग्रह गर्दछु । यो गठबन्धन केही पनि होईन । अदालतले बनाइ दिएको हो । अदालतले बनाएका काँचो सिसाको गठबन्धन, अदालतले बनाई दिएको सरकार, मुद्धा जितेर आएको सरकार, मुद्धा लडन जा भन्ने, जनताको बीचमा हामी जाने । जनताको मत हामीले लिने, उनीहरुलाई हराउने । हामी जनताको मत लिएर सरकारमा जान्छौं । कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गरेर निर्वाचनमा जान्छ रे । उसले जे पायो त्यही बोल्छ ।’

अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अव फेरी हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?