दोलखामा पैसा बनाउने कारखाना भेटियो, यसरी उत्पादन हुन्छ बिटक्वाइन

काठमाडौँ, २७ असोज- संसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरूमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ । बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताप शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजनाको पावरहाउसनजिकै बिटक्वाइन उत्पादनसमेत गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्ता लगाएको छ ।शाहलाई गत साता बिटक्वाइन र अन्य विद्युतीय मुद्राको उत्पादन र कारोबार गरेको आरोपमा सिआइबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनले स्थानीय भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिएर बिटक्वाइनको माइनिङ (उत्पादन) गर्दै आएका थिए । बिहीबार सिआइबीले त्यहाँ छापा मारेर उपकरणहरू नियन्त्रणमा लिएको छ । शाहसँगै अन्य सातजनालाई पनि अनुसन्धानका लागि हिरासतमा राखिएको छ । काठमाडौंको भाटभटेनी घर भएका शाहले अमेरिकाबाट इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ गरेका छन् । उनी गत वर्ष मात्र नेपाल फर्किएका थिए, नयाँ पत्रिकामा खबर छ ।यसरी उत्पादन हुन्छ बिटक्वाइनबिटक्वाइन माइनिङ जटिल सूत्रहरू प्रयोग गरी कम्प्युटरबाट गरिने काम हो । संसारको जुनसुकै स्थानबाट पनि यसको उत्पादन गर्न सकिन्छ । बिटक्वाइन माइन गर्न एउटा विशेष प्रोग्राम (सफ्टवेर र हार्डवेयर दुवै) सहितको कम्प्युटर आवश्यक पर्छ । यो एउटा विकेन्द्रित उत्पादन भएकाले संसारका धेरै मानिसले एकैपटक बिटक्वाइन माइन गर्न चाहन्छन् । उनीहरूले एकैपटक जटिल गणितीय सूत्रको समाधान खोज्छन् । हरेक १० सेकेन्डमा एउटा त्यस्तो समस्या समाधान (ब्लक)को प्रयास गर्छन्, जुन कारोबारका डाटाका रूपमा कम्प्युटर सफ्टवेयरको खातामा अभिलेख हुन्छ । यस्तो कार्यलाई क्रिप्टोग्राफिक ह्यास फङ्सन भनिन्छ । यसरी हुने कारोबारको शृंखलालाई ब्लकचेन भनिन्छ । हरेक १० सेकेन्डमा हुने त्यस्तो कारोबारबाट एउटा युनिक कोड निस्कन्छ, जुन संसारभरिका कम्प्युटरप्रणालीबाट निस्कने कोडसँग मिल्दैन । बिटक्वाइन माइन गर्न चाहनेमध्ये एकपटकमा एकजनाले मात्रै त्यो कोडको ब्लक पाउँछ र त्यो कोड अन्य माइनरहरुले स्वीकृत गरेपछि मात्रै त्यो मान्य हुन्छ । खासमा त्यही युनिक कोड नै बिटक्वाइन हो, जुन अनलाइन वालेटमा स्टोर हुन्छ ।पहिलापहिला सामान्य कम्प्युटरको सिपियुबाटै बिटक्वाइन माइन गर्न मिल्थ्यो । तर, बिटक्वाइनको मूल्य नै यो माइन गर्दा लागेको खर्चका आधारमा तय हुने हुँदा अब सिपियुबाट यो माइन गर्न मिल्दैन । बिटक्वाइनको भाउ बढ्दै जाँदा जिपियु माइनिङ, एफपिजीए माइनिङ, एएसआईसी माइनिङ, क्लाउड माइनिङ, पुल माइनिङलगायतका पद्दति विकास भएको छन् । जति धेरै विटक्वाइन माइनिङ हुँदै जाँदा यो माइनिङको सूत्र र उपकरणका लागि चाहिने खर्च पनि बढ्दै जान्छ । त्यस्तै, बिटक्वाइनको माइनिङ बढ्दै जाँदा माइन हुन लाग्ने समय पनि बढ्दै जान्छ । त्यसैले जति धेरै उपकरण राख्यो त्यति धेरै बिटक्वाइन चाँडै प्राप्त गर्ने सम्भावना हुन्छ । त्यसैले प्रशान्तप्रताप शाहले २६ वटा सिस्टम राखेका हुन् । संसारमा २ करोड १० लाख बिटक्वाइन मात्रै माइनिङ गर्न मिल्छ । त्यसमध्ये दुई तिहाइ माइन भइसकेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?