काठमाडौं । ‘होलीले मेरो रङ्गायो नयाँ चोली’ हरेक वर्षको होलीमा गुञ्जिने सदाबहार होलीगीत हो । वर्षेनी होलीको समयमा नयाँ गीत आए पनि चलचित्र ‘अधिकार’को यो गीत नै होलीको विशेष गीत बनेको छ ।
किरण खरेलको शब्द, शम्भुजित बास्कोटाको संगीत अनि उदितनारायण झा, दीपानारायण झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठको आवाजमा रहेको यो गीत बज्नेबित्तिकै विगतका रङ्गीन होलीको तस्बिर अगाडि नआउने सायदै होलान् ।
रङ्गहरुको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ सारा देशभरि नै मनाइँदै छ। विशेष गरेर आज होली पहाडका विभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ ।

देशभरिका विभिन्न जिल्लामा आज रङ्ग, अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। हाम्रा चाडपर्वहरू कुनै स्थानीय स्तरमा सम्पन्न गरिन्छ भने कुनै क्षेत्रीय तथा कुनै राष्ट्रियस्तरमा नै मनाइन्छ ।
जब ऋतुराज वसन्तको पुनरागमन हुन्छ, प्रकृति हराभरा भइ प्रफुल्ल मुद्रामा मुस्कुराउन थाल्छिन्, वरिपरिको पूरै वातावरण रमणीय देखिन थाल्छ । अझ संगीतका पारखीहरू राग वसन्तमा आलाप, तान तथा ठुमरीका मीठा धुनहरू गुञ्जाउन थाल्छन् र शिशिरबाट कठ्याङ्ग्रिएको चिसो जाडो न्यानो हुन थाल्छ, पूर्ण आशा र उमङ्गका साथ नयाँ वर्षका शुभ संकेतहरू देखा पर्न थाल्छन् अनि फाल्गुन शुक्ल अष्टमीदेखि प्रत्येकका घरआँगनमा फागु महोत्सव देखापर्न थाल्छ ।
‘फाल्गुने पूर्णिमायां तु दुग्धा भवति होलिकाः ।
पश्चात् प्रातः समुत्थाय क्रियते होलिकोत्सवः ।।’
अर्थात् फागुन महिनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ । त्यसको अर्को दिन बिहानै उठेर होलिकोत्सव मनाइने कुरा हिन्दू शास्त्रमा उल्लेख भएको पाइन्छ ।
हरेक वर्ष फाल्गुण शुक्लपक्ष अष्टमी तिथीदेखि पूर्णिमासम्म आठ दिन मनाइने भएकाले यस पर्वलार्ई होलाष्टक’ पनि भनिन्छ । नेपाल लगायत भारतका विभिन्न क्षेत्रमा समेत यो पर्व धुमधामका साथ मनाइन्छ । मिथिलाञ्चलमा यो पर्व पूर्णिमाको भोलिपल्ट अर्थात् चैत्र शुक्ल प्रतिपदाका दिन अत्यन्त धुमधामका साथ मनाइन्छ ।
नेपालमा विभिन्न स्थानअनुसार यो पर्व आ–आफ्नो तरिकाले मनाइन्छ । विशेषगरी काठमाडौं उपत्यकामा फाल्गुण शुक्ल अष्टमीको दिन वसन्तपुर दरबारमा शुभ मुहूर्तमा वनबाट काटेर ल्याइएको रूखलाई ताछेर विशेष किसिमको ध्वजा पताका बाँधेर सजाइ चीरोत्थान गरिन्छ र यो पर्वको शुभारम्भ भएको मानिन्छ ।
ठूलो तीन छत्र भएको यस चीरको आकृति गोलो हुन्छ र तहतह परेको छत्रका झल्लरहरूमा रङ्गीबिरङ्गी कपडा र पताकाहरू झुुण्ड्याइएका हुन्छन् । यसपछि पूर्णिमाको दिन लिंगो अर्थात् चीरको वरिपरि आगो बालेर ढालेपछि यो पर्वको समापन हुन्छ ।
प्राचीन मान्यता अनुसार राजा गुणकामदेवको समयदेखि नै असन धलाँसीका मानन्धर जातिले सो चीर ठड्याउने जिम्मा पाएबमोजिम मानन्धर समूहर्को सिँ’ गुठीबाट चीर उठाउने कार्य गरिन्छ । चीर गाड्दा परम्परागत सामूहिक गायन गर्दै फागु खेल्नेको मुखभरि अबीर छर्किइन्छ र चीरको पूजा गरिन्छ ।

विशेषगरी शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको हरियालीको खुशियालीको आगमनमा दुःख पीडा सबै बिर्सिएर, रिसराग सबै भुलेर एक–आपसमा खुसियाली बाँड्दै विभिन्न किसिमको रङ्ग एक–आपसमा दलिने परम्परा भएकोले यसलाई मित्रताको पर्व पनि भनिन्छ ।
होली खेल्ने क्रममा छतबाट लडेको, गाडीबाट खसेको, मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको सुनका गरगहना हराएको, दुवर्यवहार भएको, रसायनयुक्त रंगहरुको प्रयोगले अंगभंग भएको तथा संवेदनशील अंगमा चोटपटक लागेका, ग्याङफाइट भएका घटनाबाट तपाईँ बेखबर हुनुहुन्न । कतिले रङका कारण आँखाको ज्योति सदाको लागि गुमाएका पनि छन् ।
तर, कति अभिभावक, बालबच्चा, युवाहरु यी कुराहरुको ख्याल राख्दैनन् । रमाइलो गर्ने होडमा उनीहरुको लागि होली एक पर्व नभएर जोखिम बन्न सक्छ ।
सुरक्षित होलीका लागि यस्ता छन् टिप्सहरु :
उचित रंगको छनोट :
विशेष गरि रङ्ग किन्दा ध्यान दिनुपर्ने हुन्छ । पछिल्लो समय रंगहरुमा धेरै नै केमिकल मिसाइने भएकाले पनि उचित रङ्गको छनोट महत्वपूर्ण हुन्छ । रङ्गहरुका कारण धेरैलाई एलर्जी हुने भएकाले पनि आफूलाई मन परेको रङ्गको प्रयोगले पनि एलर्जी कम हुने सम्भावना रहन जान्छ ।
आँखालाई जोगाउने :
मानिसको शरिरको सबैभन्दा संवेदनशील अङ्ग हो, आँखा । होलीको रङ्गको प्रयोग भइरहदा सकेसम्म आँखा चिम्लनु पर्छ । अथवा आँखामा रङ्ग परेको अवस्थामा तुरुन्तै पानीले सफा गर्नुपर्छ । गगल्सको प्रयोग पनि गर्न सकिन्छ । गगल्समा स्टाइलिस्ट त देखिन्छन् नै, साथै आँखा पनि सुरक्षित हुन्छ ।
फोहोर पानीको प्रयोग :
काठमाडौंमा पानीको अभाब हामी सबैले महसुस गरेकै कुरा हो । पिउनको लागि पनि पानी पाउन मुसकिल हुने काठमाडौंमा होली खेल्नको लागी त झनै कठिन विषय हो । फोहोर पानीका कारण जण्डिस, रुघा, टाइफाइट, ज्वरो जस्ता स्वास्थ्यमा समस्या आउन सक्छ । होली खेल्दा सकेसम्म आफ्नै परिवारभित्र खेल्नु उचित हुन्छ ।
अनुहारमा कलर नगर्ने :
हिजो आज अनुहारका कलर अथवा फेस पेन्ट गर्ने प्रवृति बढ्दै गएको छ । जथाभावी रंगको प्रयोगले छालामा नराम्रो असर गरिरहेको हुन्छ । चिकित्सकहरुका अनुसार केमिकल मिसाएका रंगहरुले छालाको क्यान्सर हुने खतरा हुन्छ ।
प्रेट्रोलियम पदार्थ :
होलीको बेलामा पानीको विकल्पको रुपमा धेरैले मट्टितेल, पे्रटोलको गलत प्रयोग गरिएको पाइएको छ । प्रेट्रोलियम पदार्थको प्रयोग निकै जोखिमपूर्ण, खतरनाक र हानिकारक हुन्छ ।
अनुहार धेरै नधुने :
हाली खेल्दा खेरि पटक–पटक अनुहार धुनु राम्रो हुँदैन । रङ्गको प्रयोग गरेर पटक–पटक अनुहार पखालिरहँदा छालालाई झनै असर गरिहेको हुन्छ । होली खेलिसकेपछि अन्तिममा एकैपटक नुहाएर रङ्ग पखाल्नु नै राम्रो हुन्छ ।
लोलाको प्रयोग नगर्ने :
होलीको बेलामा सबैभन्दा धेरै प्रयो हुने भनेको लोला पनि हो । तर लोलाले चोट पनि लाग्न सक्छ जुन हामी धेरैलाई थाहा नहुन पनि सक्छ । पिचकारीको प्रयोगले लोलाबाट हुनसक्ने जोखिम अलि कम गर्छ । बलपूर्वक हुर्याइएको लोलाको पानी कानभित्र पनि जान सक्छ ।
बालबालिकालाई निगरानीमा राख्ने :
होली खेल्ने भन्दैमा बच्चाहरुलाई छोडेर आफैँ होली खेल्नतिर मात्र लाग्नु हुँदैन । बालबालिकाको पनि ध्यान राख्नु पर्दछ । उनीहरुको निगरानी गर्नु पर्दछ । ता कि, कुनै आकस्मिक घटना घटेमा तुरुन्तै उद्दार गर्न सकियोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया