तेक्वान्दोमा सैनिक महाविद्यालय च्याम्पियन

भीदमत्तनगर : कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा मंगलबार सम्पन्न जिल्लास्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन स्वर्णसहित सेनाको सैनिक आवासीय महाविद्यालय च्याम्पियन बनेको छ । 

सैनिक महाविद्यालयकै आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कैलालीका २७ वटा विद्यालय सहभागी थिए । मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा सेनाको महाविद्यालयले तीन स्वर्ण, तीन रजत र १० कास्यसहित उपाधि जितेको हो । 

कूल २७ विद्यालयका आठ तौल समूहका खेलाडी सहभागी रहेको प्रतियोगितामा धनगढीको जेसिज एभरेष्ट स्कुलका भुवन सार्की प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने आयोजक महाविद्यालयका विमल रानामगर उदीयमान खेलाडी घोषित बने । 

प्रतियोगितामा बिजेता खेलाडीलाई नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सरद ढकालले नगद, ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरे । 

खेलकुदको विकाससँगै विस्तारमा टेवा पु-याउने उद्देश्यले पहिलो पटक दुईदिने तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको महाविद्यालयले जनाएको छ । 

प्रतियोगिताको समापन समारोहमा सैनिक महाविद्यालयका सम्पर्क अधिकृत सेनानी नरोत्तम पौडेल, महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीका अतिरिक्त खेल संयोजक, विद्यालयका शिक्षक, तेक्वान्दो संघका पदाधीकारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?