बाँकेका किसानहरु पुनः कृषि पेसामा फर्किए

लोकपथ
35
Shares

काठमाडौं । कृषि पेसाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाउँकार्यक्रम लागू भएपछि पुनः कृषि पेसामा फर्केका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरका किसानहरु पुरानो प्रविधिबाट खेती गर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेसामा लागेका थिए ।

तर कृषि ज्ञान केन्द्र बाँकेमार्फत उक्त वडामा र्स्माट कृषि गाउँ कार्यक्रम लागू भएपछि किसान पुनः कृषि पेसामा फर्केका हुन् । सो गाउँपालिका कृषि पेसामा होमिएको गाउँपालिका हो ।

तर पुरानै विधि र प्रविधिअपनाएर कृषिगर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मिहिनेत बढी लाग्ने तर उत्पादन कम भएको कारणले किसानहरु कृषि पेसाबाट पलायन भई दैनिक ज्यालादारी मजदुरी काममा लागेका थिए ।

नेपाल सरकारले २०७५ सालदेखि बाँके जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरेपछि किसानहरु उत्पादन देखेर पुनः कृषि पेसामा फर्केका छन् ।

कृषि उत्पादनका लागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा र हरेक वर्षमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिने र प्याकेट क्षेत्रका लागि मलबिउहरु पूर्णरुपले ज्ञान केन्द्रले दिएपछि थप हौसला आएको राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरका किसान चक्रबहादुर थारुले बताए ।

बर्षामा धान, हिउँदेमा आलु मात्रै उत्पादन गरिरहेका किसानहरु २०७५ सालदेखि सबै महिना खेती गरिरहेका छन्। स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि अहिले १ सय ७ घर धुरीले सिजनअनुसार खेती गरिरहेका छन् ।

वर्षातमा धान, हिउँदेमा आलु र तोरी र बसन्तमा मकै खेतीगरि रहेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएका मकै भारतीय मकै जस्तो उत्पादन नभएपछि उनीहरु भारतीय मकैको बीउमानिर्भर परेको फत्तेपुर स्मार्ट कृषि गाँउका किसान तथा सचिव खोज लालथारुले बताए ।

तराईको भेग र बाँकेको माटो उर्वर भएको कारणले मकै उत्पादननिकै राम्रो भैरहेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएदेखि नै फत्तेपुरका किसानहरु पूर्ण रुपमा कृषिमा आबद्ध भएको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए ।

यस क्षेत्रमा उत्पादन हुने चाँद, ताला ११ जिरो सात, जेपी पाँच सय दुई जातका मकै अहिले बसन्ते सिजनमा ९ बिगाहा जमिनमा मकै खेती गरेको अधिकृत भट्टराईले बताए ।

राप्ती सोनारी गाउँपालिकाले स्मार्ट कृषि गाउँका किसानहरुलाई आर्थिक सहयोग नगरे पनि प्राविधिकरुपमा किसानहरुले खबर गर्न साथ सहयोग गर्दै आएको गाउँपालिकाकी कृषि प्राविधिक सुमित्रकुमारी थारुले बताए ।

नेपाल सरकारले मान्यता दिएको मकै धेरै समय लाग्ने, घोघा लामो भएपनि कम दाना लाग्ने, धेरै अग्लो हुने र उत्पादनमा कमीआएको कारणले किसानहरुले भारतीय मकैको बीउ लगाउने गरेको उनले बताए ।

यसरी स्मार्ट कृषि गाउँ स्थापना भएर किसानहरुले लागेको देख्दा हरेका गाउँपालिकाको वडा स्तरमै स्मार्ट कृषि गाउँ सञ्चालन गर्न जरुरी देखिन्छ । वडा स्तरमै स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि विदेश पलायन हुन लागेका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिई आत्मनिर्भर बनाउन र कृषि उत्पादनमा वृद्धि हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?