कामनपा २६ ले एक वर्षमा ६० योजना यसरी गर्यो सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २६ ले चालु आर्थिक वर्षमा ६० वटा आयोजना सम्पन्न गरेको छ ।
    
लैनचौरमा आयोजनागरिएको ‘सार्वजनिक सुनुवाइ एवं ज्येष्ठ नागरिक सम्मान तथा भत्ता वितरण’ कार्यक्रममा २६ नम्बर वडाले आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न भएका ६० निर्माण कार्यको विवरण प्रस्तुत गरेको थियो । 
    
महानगरको प्रमुख पर्यटकीयस्थल ठमेल पनि यही वडामा पर्दछ ।

गोँगबु सम्म फैलिएको उक्त वडालाई काठमाडौँ कै सर्वोत्कृष्ट बनाउने प्रतिबद्धता वडाध्यक्ष ख्यामराज तिवारीले जनाए ।

आफ्नो योजनाअनुसार सबै निर्माण कार्यहरु समयमै भएको तिवारीले बताए । 
बाटो निर्माण तथा व्यवस्थापन, ढल तथा मंगल निर्माण, सडक बत्ती जडान, ढुंगेधारा र इनार निर्माण तथामर्मत, रानीबारी प्रहरी बिट पुनःनिर्माण, वडा कार्यालय भवन कोठा निर्माण आदि जस्ता कामहरु सम्पन्न भइसकेका छन् । 
वडाध्यक्ष तिवारीले मन्तव्य राख्दै भने ‘कुन स्थानमा के कुराको आवश्यकता छ, त्यसको बारेमा वडा कार्यालयमा निवेदन दिनुहोस्, हामी समस्या समाधान गर्न तयार छौँ ।’
    
वडाले आगामी आर्थिक वर्षका लागि पनि निर्माण योजना बनाइसकेको छ ।

आगामी वर्षका लागि ३० वटा आयोजनाको प्रस्ताव ल्याइएकोे छ ।

जस अन्तर्गत ठमेल प्रवेशद्वार निर्माण, पुरानो वडा कार्यालय भवन मर्मत, बाटो मर्मत, सार्वजनिक शौचालय निर्माण जस्ता योजना छन् । 

वडाभित्र थप सार्वजनिक स्थलको स्थापना गर्ने योजना पनि रहेको तिवारीले बताए ।
    
उक्त वडामा ८५३ ज्येष्ठ नागरिक बसोबास गर्दै आएका छन् ।

जसमध्ये कार्यक्रममा ८० वर्ष पूरा गरेका ४२ पुरुष र ७५ वर्ष पूरा गरेका ११२ महिलालाई जनही १२ हजार रुपैयाँ नगदसहित दोसल्लाले सम्मान गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?