नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको छ : नेता सिंह

लोकपथ
442
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन् ।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताए । नेता सिंहले नेपाली कांग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताए । नेता सिंहले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा राखे ।

नेता सिंहले भने, ‘वैशाख ३० गते स्थानीय निर्वाचनको डेट फिक्स भइसकेको छ । अहिले नेपाली कांग्रेस पार्टीको संगठन नै देशव्यापी रुपमा ६ हजार ७४३ वटा वडा समितिदेखि लिएर ७५३ वटा पालिकाहरुमा फोकसिङ गरेर राष्ट्रिय अभियान शुरु भइसकेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने अभियान शुरु भइसकेको छ । यसमा पार्टीका सबै नेता कार्यकर्ताले यस पटक आउने स्थानीय निर्वाचन संघीयतालाई कार्यान्वयनमा लैजानको लागि र संघीय, प्रान्तीय सरकार र स्थानीय सरकारको महत्व हो जनतासमक्ष पुयाउनको लागि यो महत्वपूर्ण निर्वाचन हुन गइरहेको कारणले गर्दा यसमा कांग्रेसले उम्मेदवार सेलेक्शन गर्दा पार्टीको विधान, नियमावलीको बाटो देखाएको छ । वडा वडाबाट, टोलटोलबाट वडालाई उम्मेदवार छान्दा कांग्रेसी सबैले विधानले भनेका कुराहरुलाई पालना सबैले गर्नुपर्छ । सिफारिस गर्दा एक महिलासहित ३ जना सम्भावित उम्मेदवारहरुलाई सिफारिस गर्नुपर्छ भन्छ वडा लेभलदेखि लिएर । कांग्रेसमा देखा परेको कस्तो हो भने कोही सबैको प्रियपात्र हुन खोज्ने, विधि विधानअनुसार पालना नगराउने, भन्ने तीन जनाको सिफारिस १५/२० जना पठाएपछि कहाँबाट राम्रोसँग हुन्छ । त्यसकारण पार्टीको विधानले जे भनेको छ, सिफारिस गर्ने कमिटीले १ महिलासहित तीन, सर्वसम्मत भए सर्वसम्मतबाट नभए तीन जनाको नाम सिफारिस गर्ने, समितिहरु, इकाईहरु त्यसमा केन्द्रित भयो भने राम्रो हुन्छ । अर्को कुरा उम्मेदवार हुनको लागि पहिला संगठनमा काम गरेको हुनुपर्छ । वर्कसहरुले चिनेको हुनुपर्छ। चुनावमा जाँदा पनि पब्लिकसँग जुन वडामा उठ्ने हो त्यो वडामा भिजेको मान्छे त हुनुप¥यो नि । यो खालि विधि प्रक्रिया पूरा गरेर पब्लिकले नचिनेको मान्छे परेमा गाह्रो हुन्छ पार्टीलाई ।’

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली कांग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महशुस गरेको बताए । उनले आफूले निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृतिहरुलाई समाधान गर्ने पनि बताए ।

अध्यक्ष सिंहले भने, ‘म संलग्न पार्टीको सरकार बनेपछि निर्माण व्यवसायीहरुले ठूलो रहाहत महशुस गरेको छ । निर्माण व्यवसायीहरुको हकहितका लागि हामी लडिरहनेछौँ । सिमित निर्माण व्यवसायीहरुको हातमा मुलुकको निर्माणको बाटो गएको छ, त्यसबाट धेरै वटा विकृतिहरु भित्रिएका छन् । त्यसलाई न्युन गर्ने काममा ११ औँ संशोधनले गर्नेछ । त्यसलाई कार्यान्वयन गराउने मेरो प्रमुख जिममेवारी हो ।’

अध्यक्ष सिंहले गत कार्यकालमा भन्दा नयाँ कार्यकालमा आफूले निर्माणका काममा गरेको अठोटलाई पूरा गर्ने बताए । उनले कोरोनाको कारण अस्तव्यस्त बनेको निर्माण उद्योगलाई सही बाटोमा ल्याउन अबका दिनमा तीव्र गतिमा काम अघि बढाउने प्रतिवद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?