काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युद्धकालमा भएको घटना र व्यक्तीगत रिसिइवीलाई छानविन गर्न नसक्दा अराजकता बढेको बताएका छन् ।
छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि उनले अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको प्रतिक्रिया दिए ।
गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३६ औं दिनमा आइपुग्दा थप बिग्रिएको छ ।
मंगलवार बिहान स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका कांग्रेस वरिष्ठ नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी दिएको छ ।
चिकित्सकका अनुसार पछिल्लो दुई दिन यता गंगामायाको स्वास्थ्य पहिलेभन्दा जटिल हुँदै गएको छ ।
उनको शरीर सुन्निदा हातको नशा नभेटिएका कारण घाँटीको नशाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ ।
उनले अपराधीले माओवादीसंग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउदै गएको टिप्पणी गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले भने–‘रातो झण्डा ओढेपछि सवै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ ।
छोराको हत्यालाई कारवाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो ।
गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ ।’
२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बसेकी थिइन् ।
अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् ।
अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए ।
छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया