काठमाडौं । ड्युटीमा रहेका प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।
सिन्धुली, मरिण गाउँपालिका-६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा बा.५४ प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेपश्चात् उनलाई पक्राउ गरेको हो ।
साथै सोही चोकस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने महोत्तरी जलेश्वर नगरपालिका-९ फुलहट्ठा बस्ने २८ वर्षीय दिपेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बा.१६ च ७८५१ नम्बरको बोलेरोलाई प्रहरीले जाँच गर्ने क्रममा सिट बेल्ट लगाउन आग्रह गर्दा बोलेरो चालक मण्डलले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका-३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय देव बहादुर विक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपश्चात् प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीलाई हातपात गरेपश्चात् उनीहरुलाई पक्राउ गरेको हो । हातपातबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरू मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारपश्चात् डिस्चार्ज भएका छन् ।
उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया