राष्ट्र बैंकले दियो एनबीलाई प्राप्ति गर्न नबिल बैंकलाई सैद्धान्तिक सहमति

लोकपथ
247
Shares

काठमाडौं । अन्तत: नबिल बैंक र नेपाल बंगलादेश बैंक गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेसँगै दुवै बैंक गाभिने भएका हुन्।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ ।

हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब नौ करोड रहेको छ । यस एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।

पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्बभन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसनपश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुन आउनेछ ।

यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मदत पुग्ने देखिन्छ ।

यसैगरी छ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा दुई अर्ब १८ करोडभन्दा बढी तथा एनबी बैंकको ८१ करोडभन्दा बढी रहेकोमा एक्विजिसनपश्चात् बैंकको खुद मुनाफा दुई अर्ब ९९ करोडभन्दा बढी कायम हुनेछ ।

एक्विजिसनपश्चात् नबिल बैंकको कुल कर्जा करिब तीन खर्ब एक अर्ब र कुल निक्षेप करिब तीन खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल ४१ र एटीएम संख्या दुई सय ९२ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?