रुपन्देहीका स्थानीय तहमा ज्येष्ठ नागरिकलक्षित कार्यक्रम : मिलन केन्द्रदेखि स्वास्थ्य उपचारसम्म

लोकपथ
91
Shares

बुटवल । रुपन्देहीका अधिकांश स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छन् ।

खासगरी ज्येष्ठ नागरिक ग्रामदेखि लिएर दिवा विश्राम गृह, ज्येष्ठ नागरिक कल्याण कार्यक्रमसमेत आ-आफ्नो अनुकूलतामा बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याएका छन् । त्यस्तै स्थानीय तहले ज्येष्ठ नागरिक परिचयपत्र पनि प्रदान गर्दै आएका छन् ।

स्थानीय तहको सामाजिक विकास शाखाबाट प्रदान गरिने ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरेपछि सोही परिचयपत्रका आधारमा विभिन्न क्षेत्रमा छुट तथा आरक्षणको व्यवस्थासमेत गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरघरमै गएर ज्येष्ठ नागरिक भत्ता प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै ज्येष्ठ नागरिकको घर–घरमै पुगेर स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई पनि अगाडि बढाइएको नगरप्रमुख शिवराज सुवेदीले बताए ।

सैनामैना नगरपालिका रुपन्देहीले भने ज्येष्ठ नागरिक ग्रामको परिकल्पनासहित काम अगाडि बढाएको छ । सैनामैनामा प्रदेशस्तरीय ज्येष्ठ नागरिक ग्राम तथा अपाङ्गता नागरिक ग्राम निर्माण कार्य सुरु भएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

सिद्धार्थनगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्षदेखि नै सुरु गरिएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । यसरी स्वास्थ्य परीक्षणका क्रममा केही समस्या देखिए निःशुल्क औषधिको समेत व्यवस्था गरिएको छ ।

रुपन्देहीको सियारी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत सहुलियतको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा यस्तो सहुलियत प्रदान गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारुले बताए ।

जिल्लाका शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिकालगायतका स्थानीय तहहरूले ज्येष्ठ नागरिक मिलन केन्द्रको योजना अगाडि सारेका छन् । तिलोत्तमा नगरपालिकाले पनि ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्दै छ ।

तिलोत्तमा नगरपालिका-९ मंगलापुरमा झन्डै १४ कठ्ठा क्षेत्रफलमा ज्येष्ठ नागरिक मिलन केन्द्रसँगै आकर्षक बाल उद्यानसमेत निर्माण गरिने वासुदेव घिमिरेले बताए । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको केन्द्रमा ज्येष्ठ नागरिकमैत्री खेलकुद, पुस्तकालय, संगीतालय, पार्क निर्माण हुनेछन् । निर्माण हुन थालेको केन्द्र नजिकै ऐतिहासिक रामजानकी मन्दिर छ ।

तीव्र सहरीकरणसँगै युवापुस्ता कामकाजी भइरहँदा ज्येष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पुर्‍याउने उद्देश्यले ज्येष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?