स्थानीय निर्वाचनमा जुट्यो तादी कांग्रेस : गाउँपालिका हाँक्न चर्चामा यी अनुहार

नुवाकाेट । सरकारले आगामी वैशाख ३० मा स्थानीय निर्वाचनको घोषणा गरेसँगै जिल्लाको मध्य भागमा रहेको तादी गाउँपालिकामा पनि निर्वाचनको सरगर्मी बढेको छ । यतिबेला सबै दलका नेता–कार्यकर्ताहरू गाउँमा केन्द्रित हुन थालेका छन् ।

यसअघि नेपाली कांग्रेसले जितेको उक्त गाउँपालिकामा अन्य दललाई जित्नुपर्ने दबाब रहेको छ भने स्वयम् कांग्रेसलाई पुनः जित जोगाउनुपर्ने चुनौती रहेको देखिन्छ ।

सो क्रममा गाउँपालिकाप्रमुख (अध्यक्ष)को लागि वर्तमान प्रमुखदेखि जिल्ला समन्वय समितिका सभापतिसम्म आकांक्षीको रूपमा अगाडि आएका छन् । युवाहरू पनि पालिकाको आगामी नेतृत्वका लागि तम्सिएका छन् ।

तादीमा कांग्रेसबाट गाउँपालिकाप्रमुखका लागि हालसम्म नारायण पाण्डे, सन्तमान तामाङ, निरन्जन थापा, विषम रिमाल, दिनेश खनाल, रामेश्वर भण्डारीलगायत आकांक्षीको रूपमा देखिएका छन् ।

यी हुन् गाउँपालिकाप्रमुखका मुख्य आकांक्षी:

नारायण पाण्डे

तादी गाउँपालिकाका वर्तमान गाउँपालिकाका प्रमुख हुन्, कांग्रेस नेता नारायण पाण्डे । राजनीतिक परिवारबाट आएका पाण्डेले साबिक खरानीटार गाविसमा कांग्रेसको सभापति समेत भएर काम गरेका छन् ।

पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका पाण्डे हाल नेपाली कांग्रेस तादी गाउँपालिकाका सभापति हुन् । पार्टीको १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित पाण्डेले आगामी स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारका रूपमा अघि आउने इच्छा देखाएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतनिकट मानिने नेता पाण्डेले निर्वाचन नजिकिएसँगै भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

सन्तमान तामाङ

जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङ तादी गाउँपालिकाबाट आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाप्रमुख का लागि चर्चामा छन् ।

नेपाली कांग्रेस पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका नेता तामाङ हाल नेपाली कांग्रेस नुवाकोटको उपसभापति समेत हुन् । पार्टीको १४औँ महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भएका तामाङ १३औँ महाधिवेशनमा महासमिति सदस्यको प्रत्यासी समेत रहेका थिए ।

नेता तामाङ कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामासहित महतको परिवारसँग नजिक मानिन्छन् । निर्वाचनको सरगर्मी बढेसँगै नेता तामाङले छलफल र भेटघाटलाई निरन्तरता दिन थालेका छन् ।

विषम रिमाल

तादी गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा चर्चा आएको अर्को नाम हो, विषम रिमाल । पार्टीको १४औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं १ बाट सभापतिको प्रत्यासी समेत रहेका थिए रिमाल । सरकारको घोषणाअनुसार स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै रिमालले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

नेता रिमाल पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग निकट मानिन्छन् । लामो समय कांग्रेसमा रहेर काम गरेका रिमाल २०४९ को स्थानीय तहको निर्वाचनमा साबिक रालुका गाविसका अध्यक्ष समेत बनेका थिए भने पार्टीको १२औँ महाधिवेशनमा जिल्ला सचिवको प्रत्यासी रहेका थिए ।

निरन्जन थापा

आगामी स्थानीय तहको निर्वाचनमा तादी गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, निरन्जन थापा । उनी पार्टीको भातृ संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ)को प्रभावशाली नेता मानिन्छन् । २०६२ मा काठमाडौंको मनोहरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित थापाले २०६३ मा नेविसंघ मनोहरा क्याम्पसको इकाइ सभापति समेत भएर काम गरेका छन् ।

देशमा हुने विभिन्न विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता जनाउने थापा नेविसंघको १२औँ महाधिवेशनमा सहमहामन्त्रीका प्रत्यासी रहेका थिए । जिपी कोइराला अध्ययन केन्द्रका महासचिव समेत बनेका नेता थापा कांग्रेस महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् ।

थापा पार्टीको १४औँ महाधिवेशनमा नुवाकोटबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । सबैसँग मिलनसार व्यवहारका थापा आगामी स्थानीय तहको निर्वाचनमा तादीबाट मात्र नभई देशैभरबाट युवा नेतृत्व अगाडि आउनुपर्नेमा जोड दिन्छन् । निर्वाचन नजिकिएसँगै थापाले गाउँकेन्द्रित भेटघाटलाई तीव्रता दिएका छन् ।

दिनेश खनाल

आगामी स्थानीय तहको निर्वाचनमा तादी गाउँपालिकाबाट अध्यक्षको आकांक्षीको रूपमा दिनेश खनालको नाम पनि चर्चामा छ । पार्टीको पूर्वमहाधिवेशन प्रतिनिधि रहेका खनाल साबिक खरानीटारको निर्वाचित उपाध्यक्ष हुन् । पूर्वमन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतनिकट मानिने नेता खनालले पालिकाअध्यक्षको लागि राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।

रामेश्वर भण्डारी

तादी गाउँपालिकाप्रमुखको रूपमा आगामी स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट रामेश्वर भण्डारीको नाम पनि चर्चामा छ । भण्डारी पार्टीको १४औँ महाधिवेशनमा खस आर्यबाट महाधिवेशन प्रतिनिधि विजयी भएका थिए ।

गाउँकेन्द्रित राजनीतिमा सक्रिय भण्डारीले निर्वाचनको मिति नजिकिएसँगै छलफल र भेटघाटमा सक्रियता देखाएका छन् ।

त्यस्तै निर्वाचनको मिति नजिकिएसँगै अन्यको नाम समेत आकांक्षीको रुपमा अघि आएको छ । सो क्रममा कांग्रेस महासमिति सदस्य समेत रहेका कांग्रेस नेता सूर्यबहादुर तामाङ समेत आकांक्षीको रुपमा अघि देखिएका छन् ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

ककनीमा स्थानीय निर्वाचन : कांग्रेसबाट को-को छन् गाउँपालिका प्रमुखको दाबेदार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?