ककनीमा स्थानीय निर्वाचन : कांग्रेसबाट को-को छन् गाउँपालिका प्रमुखको दाबेदार ?

नुवाकोट । नुवाकोटभित्रको आन्तरिक राजनीतिमा हरेक राजनीति पार्टीलाई ककनी गाउँपालिकाको प्रभाव पर्नेगरेको छ । काठमाडौंसँग सिमाना जोडिएको ककनी नुवाकोटको पर्यटन प्रवर्द्धनका लागि समेत महत्वपूर्ण क्षेत्र मानिन्छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै ककनी गाउँपालिकामा पनि निर्वाचनको सरगर्मी छ । विभिन्न राजनीतिक दलमा आबद्ध नेता–कार्यकर्ताहरूले निर्वाचनकेन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् । सो क्रममा नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनका लागि तीव्र तयारी थालेको छ ।

यसअघिको निर्वाचनमा गाउँपालिकामा पराजित भएका कारण यस पटकको निर्वाचनमा भने गाउँपालिकामा जित्नुपर्ने दबाबमा छ नेपाली कांग्रेस । निर्वाचनको सरगर्मी बढेसँगै कांग्रेसबाट आधा दर्जन नेताहरूको नाम गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा अघि आएको छ ।

ककनीबाट आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट भाग्यश्री लामा, अर्जुन न्यौपाने, राजन लामा (नेगी), दिपेश लामा, नित्यराज ढुंगाना, ऋषि कुमार तामाङ, श्रीराम ढुंगाना, विश्व गुरुङलगायतको नाम आकांक्षीको रूपमा आएको छ ।

भाग्यश्री लामा

नेपाली कांग्रेस ककनी गाउँपालिकाका वर्तमान सभापति हुन्, भाग्यश्री लामा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै लामाको नाम पनि गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा अगाडि आएको छ ।

पूर्वमहाधिवेशन प्रतिनिधि समेत रहेका नेता लामा जिल्लामा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् । विशेषगरी गाउँपालिका केन्द्रित राजनीतिमा सक्रिय लामा पूर्वजिल्ला कार्यसमिति सदस्य समेत बनेका थिए । निर्वाचनको सरगर्मी बढेसँगै लामाले नेता तथा कार्यकर्ताहरूसँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

अर्जुन न्यौपाने

कांग्रेसको भातृ संगठन हुँदै पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका अर्जुन न्यौपाने आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाबाट प्रमुखको दाबेदारको रूपमा अगाडि देखिएका छन् ।

कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नुवाकोटका जिल्ला सभापति समेत बनेका नेता न्यौपाने हाल भूमि सुधार आयोग नुवाकोटका अध्यक्ष हुन् । पार्टी राजनीतिमा प्रवक्ता डा. प्रकाशशरण महतको विश्वासपात्रको रूपमा रहेका न्यौपाने नुवाकोट क्षेत्र नं १ को क्षेत्रीय सभापति समेत बनेका थिए ।

पार्टीको १३औँ महाधिवेशनपछि क्षेत्र नं १ को क्षेत्रीय सभापति बनेका न्यौपाने पछि क्षेत्र समायोजन हुँदा समेत क्षेत्र नं १ को सभापतिकै रूपमा रहेका थिए । पार्टीको १४औँ महाधिवेशनका लागि नेता न्यौपाने महाधिवेशन प्रतिनिधिको रूपमा निर्वाचित भएका थिए ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा न्यौपानेलाई हेरिएको छ ।

राजन लामा (नेगी)

आगामी स्थानीय तहको निर्वाचनमा ककनीबाट गाउँपालिका प्रमुखका लागि मुख्य दाबेदार मानिन्छन् राजन लामा (नेगी) । नेपाली कांग्रेस ककनीका पुराना राजनीतिज्ञका रुपमा रहेका नेता नेगी आफ्ना सम्पूर्ण पार्टीमा रहेपनि आफू निरन्तर कांग्रेसमा सक्रिय छन् ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै गाउँपालिका प्रमुखको रूपमा कांग्रेसका तर्फबाट लामा नाम समेत अगाडि आएको छ ।

पार्टीको १४औँ महाविधेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्यासीको रूपमा रहेका नेता लामा बौद्धिक, कृषि व्यवसायी तथा समाजसेवामा समेत सक्रिय छन् ।

जिल्लाको राजनीतिमा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको विश्वास पात्र मानिने नेता लामा अन्य नेताहरूसँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेको उनीनिकटहरू बताउँछन् ।

दिपेश लामा

आगामी स्थानीय तहको निर्वाचनमा ककनीमा गाउँपालिकाप्रमुखको स्वाभाविक आकांक्षी मानिन्छन्, दिपेश लामा । लामा गत २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट मेयरको प्रत्यासीको रूपमा रहेका थिए ।

राजनीतिसँगै निर्माण व्यवसायीको रूपमा समेत परिचित नेता लामा हाल नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य समेत हुन् । पालिकामा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै लामाले आफ्नो तयारीलाई तीव्र बनाएका छन् । लामा कांग्रेस केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामानिकट मानिन्छन् ।

ऋषि कुमार तामाङ

ककनी गाउँपालिकामा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै कांग्रेसबाट गाउँपालिका प्रमुखको रूपमा अगाडि आएको अर्को नाम हो ऋषि कुमार तामाङ । तामाङ नेपाली कांग्रेस नुवाकोट ककनी काठमाडौं सम्पर्क समितिका सभापति समेत रहेका छन् ।

मनाङबाट महाधिवेशन प्रतिनिधि समेत बनेका नेता तामाङ जिल्लामा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् । पार्टीको १४औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं १ (ख) बाट सभापतिको प्रत्यासीको रूपमा रहेका थिए ।

नित्यराज ढुंगाना

नित्यराज ढुंगाना नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) हुँदै पार्टी राजनीतिमा आएका हुन् । आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा अघि देखिएका छन् ।

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेका ढुंगाना पार्टीको १४औँ महाविधेशनबाट नुवाकोट क्षेत्र नं १ प्रदेश (ख)को सचिवमा निर्वाचित भएका छन् ।

उनी विद्यार्थी राजनीतिमा साबिक नुवाकोट क्षेत्र नं १ नेविसंघको क्षेत्रीय सभापति समेत बनेका थिए । ढुंगाना राजनीतिमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत निकट मानिन्छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै युवाहरू नेतृत्वको लागि अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् ।

श्रीराम ढुंगाना

नेपाली कांग्रेस ककनीका पुराना राजनीतिज्ञको रूपमा परिचित छन्, श्रीराम ढुंगाना । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै गाउँपालिकाप्रमुखको रूपमा कांग्रेसका तर्फबाट ढुंगानाको नाम समेत अगाडि आएको छ ।

पार्टीको १४औँ महाविधेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्यासीको रूपमा रहेका नेता ढुंगाना बौद्धिक नेताका रुपमा चर्चित छन् । जिल्लाको राजनीतिमा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी निकट मानिने नेता ढुंगाना अन्य नेताहरूसँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेको उनीनिकटहरू बताउने गर्दछन् ।

विष्णु गुरुङ

आगामी स्थानीय तहको निर्वाचनमा ककनीबाट गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा कांग्रेसका तर्फबाट विष्णु गुरुङको नाम आइरहेको छ ।

पार्टीको १३औँ महाधिवेशनमा जिल्ला सदस्य बनेका नेता गुरुङ १४औँ महाधिवेशनमा जिल्ला सदस्यका प्रत्यासी रहेका थिए ।

राजनीतिसँगै व्यवसायमा समेत आवद्ध रहेका नेता गुरुङ पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग नजिक रहेका छन् ।

माथि उल्लिखितसहित अन्यको नाम समेत आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखको रूपमा अघि आएको छ । जसमा सुपोल तामाङलगायतको नाम समेत आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा अगाडि आएको छ ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?