दुप्चेश्वरमा स्थानीय निर्वाचनको रौनक : यी हुन् कांग्रेसबाट गाउँपालिका प्रमुखको दाबेदार

काठमाडाैं । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नजिकिएसँगै नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पनि चुनावी माहोल बढ्न थालेको छ । विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता यतिबेला गाउँतिर केन्द्रित हुन थालेका छन् ।

नेपाली कांग्रेसको प्रभाव मानिने दुप्चेश्वरमा विभिन्न राजनीतिक दलबाट पालिकाप्रमुख (अध्यक्ष)को आकांक्षीको रूपमा विभिन्न व्यक्तिहरुको नाम बाहिर आउन थालेको छ । सो क्रममा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका प्रमुखका लागि आधा दर्जन आकांक्षीहरू देखिएका छन् ।

वर्तमान गाउँपालिका प्रमुखदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरू समेत आगामी स्थानीय तहको निर्वाचनमा आकांक्षीको रूपमा अगाडि आएका हुन् ।

आगामी स्थानीय तहको निर्वाचनमा दुप्चेश्वरमा कांग्रेसबाट योविन्दमान सिंह तामाङ, सरोज केसी, रोजलाल मोक्तान, शुशील खड्का, कृष्ण कुइँकेल, नरेश तामाङलगायतको चर्चा रहेको छ ।

के छ आकांक्षीहरूको विगत ?

योविन्द्रमान सिंह तामाङ

नेपाली कांग्रेसको तर्फबाट दुप्चेश्वरको निर्वाचित गाउँपालिका प्रमुख हुन्, योविन्द्रमान सिंह । तामाङ आगामी स्थानीय तहको निर्वाचनमा दुप्चेश्वरबाट प्रमुखको स्वाभाविक उम्मेदवार मानिन्छन् । पार्टीको विभिन्न तहमा रहेर काम गरेका नेता तामाङ हाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका निर्वाचित जिल्ला सदस्य हुन् ।

त्यसो त पार्टीको १२औँ महाधिवेशनमा समेत जिल्ला सदस्य बनेका थिए तामाङ । निर्वाचनका मिति नजिकिँदै जाँदा उनले आफ्नो तर्फबाट तयारीलाई तीव्र बनाएका छन् । तामाङ जिल्लाका संस्थापनपक्षका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामानिकट मानिन्छन् ।

सरोज केसी

आगामी स्थानीय तहको निर्वाचनमा दुप्चेश्वरबाट गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, सरोज केसी ।

विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा आएका केसी २०५५ तिरबाट राजनीतिमा सक्रिय छन् । पार्टीको १४औँ महाधिवेशनमा नेता केसी नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’ बाट सभापतिको उम्मेदावारको प्रत्यासी रहेका थिए।

विद्यार्थी राजनीति गर्दा २०६२ सालमा मनोहरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बनेका केसी लाइन्स क्लबमा समेत आबद्ध छन् । उनी लामो समयदेखि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुननरसिंह केसीको स्वकीय सचिवको रूपमा रहेका छन् । निर्वाचनको मिति नजिकिएसँगै केसीले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

रोजलाल मोक्तान

दुप्चेश्वर गाउँपालिकामा गाउँकेन्द्रित राजनीतिमा सक्रिय छन्, रोजलाल मोक्तान । आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाबाट प्रमुखको आकांक्षीको रूपमा मोक्तानको नाम समेत अगाडि आएको छ ।

पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका नेता मोक्तान हाल दुप्चेश्वर कांग्रेसका सभापति समेत हुन् । पार्टीको १४औँ महाधिवेशनबाट सर्वसम्मत कांग्रेस नगरसभापति बनेका हुन् । मोक्तान जिल्लाको राजनीतिमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् ।

शुशील खड्का

आगामी स्थानीय तहको निर्वाचनमा दुप्चेश्वर गाउँपालिकाबाट मेयरको आकांक्षीको रूपमा अघि आएको अर्को नाम हो, शुशील खड्का । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नुवाकोट क्षेत्र नं १ प्रदेश (क)का सभापति बनेका छन् खड्का ।

नेपाली कांग्रेस नुवाकोटका पुराना राजनीतिज्ञ भद्रबहादुर खड्काका नाति समेत रहेका खड्का राजनीतिसँगै व्यवसायमा पनि आबद्ध छन् ।

मुख्यतः कार्गो व्यवसायमा आबद्ध खड्का पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतनिकट मानिन्छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै खड्काले पनि भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

कृष्ण कुइँकेल

दुप्चेश्वरबाट गाउँपालिकाप्रमुखको लागि कांग्रेसबाट चर्चामा आएको अर्को नाम हो, कृष्ण कुइँकेल । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका कुइँकेल नेपाली कांग्रेस नुवाकोटका पूर्वप्रवक्ता समेत हुन् ।

पार्टीको १२औँ र १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत बनेका कुइँकेलले राजनीतिको सुरुवात कांग्रेसबाट गरे पनि पछि केही समय अन्य राजनीतिक दलमा गाँसिन पुगेका थिए । डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बनेका उनी पुनः कांग्रेसमा नै फर्किएका छन् ।

जिल्लाका सबै नेताहरूसँग उत्तिकै राम्रो सम्बन्ध रहेको उनी निकटहरूले बताउँछन् । हाल पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंक केसीनिकट मानिने कुइँकेललाई डा. रामशरण महतको पनि उत्तिकै राम्रो साथ रहेको छ ।

नरेश तामाङ

नरेश तामाङ नेपाली कांग्रेस दुप्चेश्वरका पुराना राजनीतिज्ञ हुन् । आगामी स्थानीय तहको निर्वाचनमा उनको नाम समेत गाउँपालिकाप्रमुखको रूपमा अगाडि आएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा प्रदेश प्रतिनिधि बनेका उनी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् ।

माथि उल्लेखितसहित दुप्चेश्वरमा कांग्रेसबाट गाउँपालिका प्रमुखको आकांक्षीमा विकेश पण्डित लगायत अन्यको नाम समेत चर्चामा रहेको छ ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?