सीमाविद् श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ पुस्तक आठ भाषामा प्रकाशित

लोकपथ
56
Shares

काठमाडाैं । सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा हालै प्रकाशित भएको छ ।

सन २०१९ मा युरोप लातभियाको ल्याम्बर्ट एकेडमिक पब्लिशिङले प्रकाशित गरेको अंग्रेजी लिपिको पुस्तक अहिले आठ भाषा (फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस)मा अनुवाद गरी त्यही शैक्षिक संस्थाले हालै प्रकाशन गरेको छ ।

पुस्तकको प्राक्कथन इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्रोफेसर मार्टिन प्राटले लेखेका छन् ।

यस पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरु, यसको समाधानका उपाय, सीमालाई लिएर लडाइँ भएका देशहरु, विश्वका प्रख्यात सीमारेखाहरु, सीमा कूटनीति, आकाश र पातालमा पनि सीमा पुगेको हुन्छ जस्ता सैद्धान्तिक विषयवस्तु वर्णन गरिएका छन् ।

यसैगरी नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तको विवेचना गरिएको छ ।

अनलाइन पढ्न पाइने यस पुस्तकले नेपालको सीमा मामिला अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी पर्‍याएको छ । नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाँटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुनसक्ने उपाय व्याख्या गरिएका छन् ।

नेपालको सगरमाथाप्रति चीनले दाबी गर्दा भएको समझदारी, यसको उचाइ विवाद हल भएपछि संयुक्त घोषणाका विवरण, नेपाल र चीनबीच सीमाचिन्ह नं. ५७ मा विवाद रहेको र चीनको बीआरआइ नेपालको कोरिडोरजस्ता व्यावहारिक विषयवस्तु उल्लेख भएका छन् । नेपालको छिमेकी मुलुकसँग भएका १८ सीमा सन्धि सम्झौता अनुसूचीमा सम्लग्न गरिएका छन् ।

सीमासँग सम्बन्धित बेलायतको इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एशोसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरु र डेनमार्कमा मुख्यालय भएको इन्टरनेशलन फेडरेसन अफ सर्भेयर्सजस्ता विश्व संस्थाहरुको सीमासम्बन्धी क्रियाकलाप पनि वर्णन गरिएका छन् ।

यसैगरी इन्टरनेसलन बोर्डर डिप्लोमेसी, अमेरिका–नर्थ कोरिया टु–मिनेट डिप्लोमेसी, ट्रम्पले विश्व मानचित्रमा नेपालको सीमालाई बेवास्ता गरेको, अशान्त भारत–पाकिस्तान सीमा, भारत–बंगलादेश सीमा सम्झौताको सन्देशजस्ता विश्व परिवेशमा लेखिएको पुस्तक भएको हुनाले सीमा अध्येतालाइ उपयोगी हुने र विभिन्न देशका विद्यालय, महाविद्यालयमा सिमाना सम्बन्धी आधारभूत कोर्श बुकका रुपमा राख्नका निम्ति उपयोगी हुने भएकोले युरोपको प्रकाशन संस्थाले आठ भाषामा प्रकाशित गरेको हुनुपर्छ ।

यसै पुस्तक नयाँ दिल्लीको निराला पब्लिकेसन्सले दक्षिण एसियाली संस्करणका रुपमा एक महिनाअघि प्रकाशनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?