नुवाकोटको सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

नुवाकाेट । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नुवाकोट जिल्लामा सरगर्मी बढ्न थालेको छ । १० गाउँपालिका र २ नगरपालिका रहेको नुवाकोटमा वडा तहदेखि नै को उम्मेदवार बन्ने भन्ने होडबाजी चल्न थालेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा धेरै पालिकाहरुमा पराजय भोगेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा नतिजा सुधार गरेर अघि बढ्न तयारी थालेको छ । स्थानीय निर्वाचनका लागि ‘घर-घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अनुसार नेता कार्यकर्ताहरु गाउँ केन्द्रीत हुन थालेका छन् । सो क्रममा जिल्लाको सुर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष (मेयर) का लागि आकांक्षीहरु देखिन थालेका छन् । हाल सुर्यगढीमा कांग्रेसबाट आधा दर्जन नेताहरु गाउँपालिका प्रमुखका लागि दाबेदार देखिएका छन् । रामजी पौडेल, सन्तबहादुर घले, शिव अधिकारी, शंकर प्याकुरेल, दिपेन्द्र गिरी र कुमार गुरुङ लगायत आकांक्षीको रुपमा अघि देखिएका छन् ।

यी हुन् आकांक्षीहरु

रामजी पौडेल

आगामी स्थानीय तहको निर्वाचनमा सुर्यगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, रामजी पौडेल । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका पौडेल हाल नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ प्रदेश (ख) का सभापति हुन् ।

जिल्लामा महत परिवारको विश्वासपात्रका रूपमा रहेका नेता पौडेल २०५६ सालबाट नेविसंघमा आबद्ध हुँदै २०६२/६३ सालको जनआन्दोलनका घाइते समेत हुन् । पार्टीको ११औँ महाधिवेशनबाट साविक हल्देकालिका गाउँ इकाइ सचिव हुँदै पार्टीको १३औँ महाधिवेशनबाट साबिक क्षेत्र नं २ को क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए ।

निर्वाचन क्षेत्र समायोजनपछि हालको क्षेत्र नं १ को सचिवको जिम्मेवारीमा रहेका नेता पौडेल राजनीतिसँगै विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटीको जिल्ला तहदेखि आबद्ध नेता पौडेल बागमती प्रदेशको सचिव र महासचिव समेत भइसकेका छन् । साथै अन्तर्राष्ट्रिय रेडक्रस मिसन नेपालको सदस्य समेत बनेर काम गरेका पौडेल यसअघि पनि गाउँपालिका अध्यक्षको आकांक्षीको रूपमा रहेका थिए । स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै नेता पौडेलले भेटघाट र छलफलाई तीव्रता दिएका छन् ।

सन्तबहादुर घले

हाल सुर्यगढी गाउँपालिकाका प्रमुख हुन्, सन्तबहादुर घले । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै गाउँपालिकाबाट अध्यक्षको आकांक्षीको रूपमा पुनः उनको नाम चर्चामा आउन थालेको छ ।

घले २०५१ सालमा राष्ट्रिय जनमोर्चाबाट नेपाली कांग्रेसमा आएका हुन् । शिक्षण पेसामा समेत आबद्ध रहेका घले शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४९ सालको स्थानीय तहको निर्वाचनमा घले कांग्रेस र जनमोर्चाको तर्फबाट संयुक्त उम्मेदवार रहेका थिए ।

२०४९ सालमा साविकको बागेश्वरी गाविसबाट अध्यक्षको उम्मेदवार रहेका उनी पराजित भएका थिए । २०५१ सालमा भने कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनी अध्यक्षमा निर्वाचित भए । स्थानीय तहको निर्वाचन घोषणासँगै घलेले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

शिव अधिकारी

नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका पुराना राजनीतिज्ञका रूपमा रहेका शिव अधिकारी आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको आकांक्षीको रूपमा देखिएका छन् । नेता अधिकारी साविकको वागेश्वरी गाविसका उपाध्यक्ष समेत भएका थिए ।

पार्टीको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेका नेता अधिकारी साविक क्षेत्र नं २ को क्षेत्रीय सभापति समेत बनेका थिए। पूर्व महासमिति सदस्य समेत रहेका नेता अधिकारी जिल्लामा महत परिवारसँग नजिक रहेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुख आकांक्षीको रुपमा अघि आएका अधिकारीलाई अन्य आकांक्षीहरूले समेत समर्थन गर्न सक्ने उनीनिकटहरू बताउँछन् ।
स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै अधिकारीले कसरी अघि बढ्ने भन्नेबारे गाउँमा छलफललाई तीव्रता दिएका छन् ।

शंकर प्याकुरेल

नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सभापति हुन्, शंकर प्याकुरेल । आगामी स्थानीय तहको निर्वाचनमा नेता प्याकुरेल पनि गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा अघि देखिएका छन् । कांग्रेसको भातृ संगठन नेपाल तरुण दलबाट राजनीतिमा सक्रिय रहँदै पार्टी राजनीतिमा आएका हुन् प्याकुरेल । वागेश्वरी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बनेर समेत काम गरेको अनुभव रहेको छ । जिल्लामा महत परिवारसँग नजिक रहेका प्याकुरेल निर्माण व्यवसायी समेत हुन् ।

दिपेन्द्र गिरी

आगामी स्थानीय तहको निर्वाचनमा सुर्यगढी गाउँपालिकाबाट अध्यक्षको आकांक्षीको रूपमा अघि आएको अर्को नाम हो, दिपेन्द्र गिरी ।

शिक्षक संघ हुँदै पार्टी राजनीतिमा आएका गिरी सुर्यगढी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष समेत हुन् । कांग्रेस केन्द्रीय सदस्य अर्नुननरसिंह केसीनिकट मानिने नेता गिरी नेपाली कांग्रेस नुवाकोटका पुुराना राजनीतिज्ञ हंसराज गिरीका छोरा समेत हुन् ।

कुमार गुरुङ

पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आएका हुन्, कुमार गुरुङ । आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा अगाडि देखिएका छन् । गुरुङ हाल नुवाकोट–काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष हुन् । भने पार्टीको १४आँै महाधिवेशनमा नुवाकोटबाट महाधिवशेन प्रतिनिधि बनेका गुरुङ निर्माण व्यवसायमा आबद्ध छन् । जिल्लामा अर्जुननरसिंह केसीनिकट मानिने गुरुङ दरबारमार्ग व्यवसायी संघको अध्यक्ष समेत हुन् ।

यो पनि

नुवाकोटको पञ्चकन्यामा चुनावी चर्चा : कांग्रेसबाट मेयरमा यी पाँच आकांक्षी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?